काठमाडौं । सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको आन्तरिक खरिद प्रक्रियामा व्यापक भ्रष्टाचार भएको र प्रहरी महानिरीक्षकको निवासमा भएको चोरीको घटना ढाकछोप गरिएको भन्दै उच्चस्तरीय छानबिनको माग गरेका छन् ।
बुधवार आयोजित सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरी प्रशासनभित्र मौलाएको अनियमितता र ठेकेदारहरूसँगको अस्वाभाविक सम्बन्धबारे गम्भीर प्रश्न उठाएका हुन् ।उनले प्रहरी प्रधान कार्यालयको निर्देशनमा जिल्लाका कमाण्डर र लेखापालहरूले गर्ने काममा पारदर्शिता नभएको र प्रहरी सेवाबाट अवकाशप्राप्त लेखापालहरू नै ठेकेदार बनेर प्रहरीभित्रै सक्रिय रहेको दाबी गरे ।
सांसद गणेश सिंह ठगुन्नाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदमा देखिएको चरम ढिलाइ र प्रक्रियागत अन्योलप्रति आपत्ति जनाए । सुरक्षा निकायका जवानहरूले समयमै पोसाक र जुत्ता नपाउनु दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।
सांसद वर्षमान पुनले सार्वजनिक निकायमा हुने खरिद प्रक्रिया र उजुरीउपरको छानबिन तथ्य र प्रमाणमा आधारित हुनुपर्नेमा जोड दिए । समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेर वित्तीय सुशासन कायम गर्नुपर्ने उनको भनाइ छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको खरिद प्रक्रियामा कुनैपनि किसिमको आर्थिक अनियमितता वा भ्रष्टाचार नभएको स्पष्ट पारे । खरिद प्रक्रियामा राज्यकोषको कुनैपनि रकम खर्च नभएकाले भ्रष्टाचारको वस्तुगत आधार नै विद्यमान नरहेको दाबी गरे
। महानिरीक्षक कार्कीले सार्वजनिक खरिद ऐन र बोलपत्र कागजातमा उल्लेखित शर्त बमोजिम नै खरिद प्रक्रिया रद्द गरिएको जानकारी दिए ।
