काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न र नीति निर्माणमा युवाहरूको सार्थक सहभागिता सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छन् ।
काठमाडौंमा शुक्रवारदेखि शुरु भएको तीन दिने ‘लोकल कन्फरेन्स अफ युथ’ (एलसीओवाई) को उद्घाटन गर्दै मन्त्री चौधरीले जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न र नीति निर्माणमा युवाहरूको सार्थक सहभागिता सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताएकी हुन् । मन्त्री चौधरीले नेपालको जलवायु परिवर्तनमा न्युन योगदान रहे पनि भौगोलिक संवेदनशीलताका कारण नेपाल विश्वकै अति जोखिमपूर्ण मुलुकको सूचीमा रहेको उल्लेख गरिन् । यस्ता युवा केन्द्रित कार्यक्रमबाट प्राप्त हुने निष्कर्ष र सुझावहरूले आगामी दिनमा जलवायु नीति तर्जुमा र कार्यान्वयनमा महत्त्वपूर्ण मार्गदर्शन गर्ने उनले विश्वास व्यक्त गरिन् । उनले सम्मेलनबाट आउने निचोडलाई आगामी कोप–३१ लगायतका विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको साझा आवाजका रूपमा पु¥याउने प्रतिवद्धता समेत जनाइन् ।
मन्त्री चौधरीले कार्यक्रमका आयोजक तथा सहभागीहरूलाई सम्मेलनको निष्कर्षसहित मन्त्रालयमा विस्तृत छलफलका लागि आउन समेत आह्वान गरिन् । काठमाडौंमा शुक्रवारबाट शुरु भएको यो सम्मेलन तीन दिनसम्म चल्नेछ । जहाँ देशभरका युवाहरूले जलवायु परिवर्तनका असर र न्युनिकरणका उपायबारे बहस र पैरवी गर्नेछन् ।