काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आमूल सुधारका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा जानुपर्ने बताएका छन् ।
नेपालका पर्यटन व्यवसायीहरूको छाता सङ्गठन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९ औं अधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। राष्ट्रिय ध्वजावाहक निगम हाल चरम ऋण, राजनीतिक हस्तक्षेप र कर्मचारीतन्त्रको बेथितिमा फसेको उल्लेख गर्दै उनले यसको पुनर्संरचना अपरिहार्य भएको बताए । निगमको सुधारका लागि आफू अध्ययनकै क्रममा रहेको जानकारी दिँदै उनले यसलाई उद्धार गर्न पीपीपी मोडलमा लैजानुपर्नेमा आफ्नो दृढता रहेको स्पष्ट पारे । यस प्रक्रियामा सरोकारवालाहरूको साथ र सहयोगको अपेक्षा गर्दै उनले सार्वजनिक क्षेत्रमा यस विषयमा वैचारिक बहस सिर्जना गर्न समेत अपिल गरे ।
मन्त्री पौडेलले पर्यटन क्षेत्रको विकासका लागि बलियो राष्ट्रिय ध्वजावाहक हुनुपर्ने बताए ।