काठमाडौं । क्षमताभन्दा बढी सामग्री बोकेका मालवाहक सवारीका कारण कलंकी–नागढुङ्गा सडकमा क्षति बढेको छ ।
सडक विभागकाअनुसार ओभरलोडका कारण सडकमा क्षति पुगेर आयु घट्दै गएको हो । सडकमा बालुवा लगायतका सामाग्री बोक्ने सवारीले पानी चुहाउने गरेका कारण दुर्घटनाको जोखिम समेत बढाएको काठमाडौं सडक डिभिजन कार्यलयका प्रमुख सुवोध देवकोटाले बताए । उनकाअनुसार कलंकीदेखि नागढुङ्गासम्मको सडकमा छ महिना अगाडि मात्रै ओभरले गरिएको हो । सामान्य अवस्थामा सडक कम्तीमा पाँच वर्षमा ओभरले गर्नुपर्ने हुन्छ तर ओभरलोडका कारण अहिले दुई वर्षमै सडक मर्मत गर्नुपर्ने अवस्था आएको उनको भनाई छ । ओभरलोड नियन्त्रणका लागि सडक विभागले जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी कारबाही प्रक्रिया अघि बढाउने विभागले जनाएको छ ।
उनले भने, ‘बालुवा गिट्टी बोकेका ट्रकहरुले बाटोभरी पानी चुहाएर हिड्ने गरेका कारण सडक दुर्घटनाहरु पनि बढ्ने, सडकको आयू पनि कम हुने र ओभरलोड ट्रकका कारण सडकहरुमा दैनिक क्षति पुग्ने गरेको गुनासो आएपछि हामी अनुगमनमा आएका थियौँ । अनुगमनमा आउँदाखेरी हामीले कतिपय ट्रकहरुले सडकमा पानी चुहाउँदै हिँडेको देख्यौँ, कतिपय ट्रकहरुले ढल्लाको साईज बढाउनुभएको छ, हाम्रो रोडको क्षमता भनेको एउटा एक्सलको लोड १० टनको हो तर यहाँ डबल एक्सलको ट्रकले पनि २५ टन भन्दा बढी क्षमताको सामान बोकेर गरेको पायौँ, हामीले छ महिना अगाडी मात्रै कंलकीदेखी नागढुंगासम्म सडकको ओभरले गरेका थियौँ, क्षमताभन्दा बढीको लोड बोकेर हिड्ने गरेका कारण सडकमा क्षति पुगेको छ । यसको बारेमा हामीले सम्बन्धित निकायसँगको छलफल गरेर कारबाहीको प्रक्रिया अगाडी बढाउँछौ । जिल्ला प्रहरी कार्यलय, ट्राफिक प्रहरी कार्यलय र जिल्ला प्रशासन कार्यलयलाई ओभरलोड बोकेर हिड्ने सवारीलाई कारबाही गर्नको लागी पत्रचार गर्छौ । सडक विभाग आफैँसँग कारबाही गर्ने अधिकार छैन, यसलाई नियन्त्रण गर्न सकिएन भने सडक बनाएर मात्रै होईन, सडकको दीगोपन माथी पनि प्रश्न उठ्छ । लोभरलोड बोकेर, पानी चुहाएर हिड्ने कार्यलाई नियन्त्रण गर्नुपर्छ । सडकमा पानी चुहाएर हिँड्दा सडक चिप्लो हुन्छ । सडक चिप्लो भएपछि बाईक तथा सवारीको ब्रेक नलाग्ने हुनसक्छ, त्यसले दुर्घटना निम्त्याउँछ । हामीले सडक कम्तीमा पनि पाँच वर्षमा ओभरले गर्ने गरेका छौँ । तर अहिले दुई वर्षमा नै सडक मर्मत गर्नेुपर्ने अवस्था आएको छ, यो सबै ओभर लोडिङका कारणले हो । लोड बढाउन हो भने ट्रकको एक्सल पनि बढाउनुपर्ने हुन्छ । तर हाम्रो सिंगल एक्सलमा पनि १२÷१३ टन बोकेर आउने, डबल एक्सल छ भने २५ टनसम्म बोकेर आउने गरेको पाइन्छ, ढल्लाको साईज पनि यातयात व्यवस्था कार्यलयले बनाएको मापदण्ड विपरित बनाईएको छ, यातयात व्यवस्था कार्यलय, ट्राफिक प्रहरी, जिल्ला प्रशासन, प्रहरी लगायतका सबै निकायले नियमित रुपमा नियमन गर्ने हो भने समस्या समाधान हुन्छ र सडकको आयू पनि बढ्छ । ढल्लाको साईजमा हामीले नियन्त्रण गर्न जरुरी छ, स्वीकृत लिनेबेलाको भन्दा बढी ढल्लाको साईज थप्ने काम भइरहेको छ, त्यसलाई बन्द गर्नुपर्छ ।’
यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी, जिल्ला प्रशासन र प्रहरीले नियमित अनुगमन तथा नियमन गरेमा सडक क्षति र दुर्घटनाको जोखिम घटाउन सकिने उनको भनाइ छ ।
