काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानलाई मल वितरण गर्दा लालपूर्जा माग्नुलाई नकरात्मक रुपमा लिन नहुने बताएकी छन् ।
बुधवार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दे उनले यस्तो बताएकी हुन् । जग्गाको क्षेत्रफलको आधारमा आवश्यक मल वितरण गर्न लालपुर्जा मागिएको उनको भनाइ छ । किसानको जग्गाको क्षेत्रफलका आधारमा प्राविधिकको सिफारिसअनुसार मलको मात्रा निर्धारण गर्न लालपूर्जा वा जग्गाको विवरण मागिएको उनको भनाई छ । उनकाअनुसार मल आपूर्ति तथा वितरणमा संघ, प्रदेश र स्थानीय तीन तहका सरकारबीच समन्वय भइरहेको छ । केन्द्र सरकारले मल आपूर्ति गर्ने तथा प्रदेश र स्थानीय तहले वितरणमा सहजीकरण गर्ने व्यवस्था रहेको उनको भनाइ छ ।
मन्त्री चौधरीले साउन १ देखि २७ गतेसम्म करिब ६२ हजार मेट्रिक टन मल किसानकोमा पठाएको जानकारी दिइन् । ६४ हजार मेट्रिक टन मल भारतबाट आउने क्रममा रहेको उनको भनाई छ ।