३० आश्विन २०८३, शुक्रबार

‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन

0
Shares


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले आगामी हिउँदमा पर्नसक्ने ‘सुपर एल निनो’ को प्रभाव र त्यसले निम्त्याउने खडेरीप्रति उच्च शतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् ।

जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एल निनोको प्रभावले नेपालको जल, ऊर्जा र खाद्य सुरक्षामा गम्भीर चुनौती थप्ने चेतावनी दिएका हुन् । मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय मौसम सम्बन्धी निकायको पछिल्लो तथ्यांक उल्लेख गर्दै निकै शक्तिशाली एल निनोको सम्भावना ९० प्रतिशत पुगेको जानकारी दिए । नेपालको जल तथा मौसम विज्ञान विभागले पनि यस वर्ष देशभर औसतभन्दा कम वर्षा र अधिक तापक्रमको प्रक्षेपण गरेको तथ्य स्मरण गराउँदै मन्त्री श्रेष्ठले असारदेखि नै हुनुपर्ने तयारीमा ढिलाइ भएको स्वीकार गरे । नेपालको विद्युत व्यापारमा उल्लेख्य सुधार भएपनि हिउँदका चार महिना (नोभेम्बरदेखि अप्रिल) अझै पनि आयातमा निर्भर रहनुपरेको मन्त्री श्रेष्ठको भनाइ छ । नेपालका अधिकांश सिंचाई प्रणाली साना र मध्यम नदीमा आधारित रहेकाले खडेरीले कृषि उत्पादनमा प्रत्यक्ष असर पार्ने उनको भनाइ छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरिता दवाडीले एलनिनो र यसका कारण सिर्जना हुने जलवायु जोखिम व्यवस्थापनका लागि पूर्वतयारी र संस्थागत समन्वय अपरिहार्य रहेको बताइन् । एलनिनो केवल मौसमविद्हरूको प्राविधिक विषय मात्र नभई यो विकास, जनजीविका र मानव जीवनसँग प्रत्यक्ष जोडिएको गम्भीर मुद्दा भएको उनको भनाइ छ । उनले नदीमा पानीको बहाव घट्दा ऊर्जा सुरक्षा र समग्र राष्ट्रिय अर्थतन्त्रमा चुनौती थपिने बताइन् ।

सचिव दवाडीले भरपर्दो सूचनाको प्रवाह, निकायहरूबीचको समन्वय र समयमै गरिने निर्णयले जलवायुजन्य मानवीय तथा आर्थिक क्षति कम गर्न सकिने विश्वास व्यक्त गरिन् ।