काठमाडौं । पहिलोपल्ट हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ ।
ललितपुरस्थित पाटन दरबार स्क्वायरमा आईतवार एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ट्रफी सार्वजनिक गर्नुभएको हो । सो अवसरमा एनभिएलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय र एनभिएलका सिओओ विकास खेतान उपस्थित हुनुहुन्थ्यो । उक्त ट्रफी प्रसिद्ध मूर्तिकार रवि शाक्य (टम एण्ड जेरी) ले ट्रफी निर्माण गर्नुभएको हो । एनभिएल ट्रफीको अवधारणा र डिजाइन एनभिएलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्यायको हो । एनभिएलको पहिलो संस्करण भदौ १९ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने तयारी छ । नेपालमै पहिलोपटक हुन लागेको पुरुष पे्रmन्चाइज लिग केडिया ग्रुपको आयोजनामा हुँदैछ ।
आईतवार उक्त ट्रफीलाई दुई ऐतिहासिक स्थलमा परिक्रमा गराइएको छ । भक्तपुर दरबार स्क्वायर र वसन्तपुर दरबार स्क्वायरमा पनि ट्रफी सार्वजनिक गरिएको हो । सुनको जलप लगाएको ट्रफीमा नेपालको पहिचान र गौरवका प्रतीकलाई समावेश गरिएको छ । करिव १३.५ किलो तौल रहेको ट्रफीमा आठको प्रतिकात्मक सम्बन्धबाट १०८ को आध्यात्मिक महत्व पनि जोडिएको छ । ट्रफीले नेपालको डिएनए बोकेको आयोजकको दाबी छ । हिमालदेखि तराईसम्मका प्राकृतिक विविधता, संस्कृति, सम्पदा, आध्यात्मिकतालाई यसमा कलात्मक रूपमा ट्रफी समेटिएको छ । ट्रफीका आठ चुचुरा नेपालका आठ हजार मिटरभन्दा अग्ला हिमालका प्रतिक हुन् भने शिखरमा अष्टमंगल छन् ।
गणेश हिमालको मौलिक क्वाट्र्ज क्रिस्टलले यसलाई हिमालसँग प्रत्यक्ष जोडेको छ । पहिलो संस्करण आगामी भदौ १९ देखि २७ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ । यसअघि भदौ ४ गतेदेखि १३ गतेसम्म हुने तयारी थियो । तर आयोजक केडिया ग्रुप गत शुक्रवार नयाँ मिति तय गरेको हो । कभर्डहल उपलब्ध नभएपछि मिति नयाँ घोषणा गरिएको आयोजकले जनाएको छ । पहिलो संस्करणमा कुल ६ वटा फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गर्दैछन् । खप्तड फाल्कन्स, मधेश वारियर्स, सगरमाथा स्म्यासर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजले पहिलो प्रतिष्पर्धा गर्दैछन् । गत साउन १० गते घरेलु खेलाडीको अक्शन पनि भइसकेको छ ।
