काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले मानव–वन्यजन्तु द्वन्द्वबाट सिर्जित समस्यालाई न्युनिकरण गर्न स्थानीय स्तरबाटै प्रभावकारी कदम चालिनुपर्नेमा जोड दिएक छन् ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले वन्यजन्तुको आक्रमणबाट हुने क्षतिबापत प्रदान गरिने राहत रकममा गरिएको उल्लेख्य वृद्धिको चर्चा गर्दै यसलाई थप व्यवस्थित बनाउनुपर्ने बताएका हुन् । वन्यजन्तु राहतसम्बन्धी कानुनलाई यति छोटो समयमा परिमार्जन गरी गतिशीलता प्रदान गर्ने मुलुकहरूमा नेपाल अग्रपंक्तिमा पर्ने उनको दाबी छ । बैठकमा डा. ढकालले वन्यजन्तुको स्वभाव अनप्रेडिक्टेबल (अकल्पनीय) हुने भएकाले यसको समाधान पनि सोही प्रकृतिले खोजिनुपर्ने सुझाव दिए ।
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको ‘मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदल’ का संयोजक ओम क्षेत्रीले सह–अस्तित्वको नाममा वन्यजन्तु संरक्षणको सम्पूर्ण मूल्य र भार किसानले मात्र चुकाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । वन्यजन्तु र मानवबीचको सह–अस्तित्वलाई वैज्ञानिक र व्यावहारिक ढंगले परिभाषित गरिनुपर्नेमा उनको जोड छ । उनले सह–अस्तित्वको अर्थ किसानको अधिकार, जीविकोपार्जनको सुरक्षा र वन्यजन्तुको वैज्ञानिक व्यवस्थापनबीचको सन्तुलन भएको स्पष्ट पारे ।