काठमाडौं । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाबारे सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरुले दोषिमाथि हदैसम्मको कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले सरकारले बालिकाको परिवारसँग गरेको सहमतिप्रति आपत्ति जनाइन् । उनले बालिकाको जीवन सालिक ठड्याएर फिर्ता नआउने भन्दै यस्ता घटनामा राहत र सहमतिपत्रभन्दा कानूनको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताइन् । सहमतिपत्रले तत्काल आन्दोलन रोक्न र राहतले क्षणिक पीडा कम गर्न सक्ने भएपनि त्यसले दीर्घकालीन न्यायको अनुभूति तथा राज्यप्रतिको विश्वास पुनःस्थापित गर्न नसक्नेतर्फ सरकार सचेत हुनुपर्ने उनको भनाइ छ । साथै उनँले जघन्य अपराधका घटनामा मिलापत्र गराउने मतियारलाई हदैसम्मको कारबाही गर्न समेत सरकारसँग माग गरिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले सबै नागरिकले मुलुकमा सम्मानजनक रुपमा बाँच्न पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् । उहाँले दोषिलाई कारबाही गर्ने कुरामा संविधानका अक्षर मात्र हेरेर नहुने भन्दै अपराधको प्रकृति र गम्भीरताका आधारमा कारबाही गर्नुपर्ने बताउनु भयो ।
रास्वपा सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई घटनास्थलमै गोली ठोक्ने कानुन लागू गर्न माग गरे । समय समयमा यस्ता घटना घट्ने गरिरहेको बताउदै उनले पीडितको नाम लिएर घटनामाथि लामो बहस गर्नु मात्र पर्याप्त नहुने भन्दै सरकारले महिलाको सम्मान, सुरक्षा र बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
रास्वपा सांसद विपिनकुमार आचार्यले गरिमा चौधरीका आमा–बुबाको भिडियो गृह मन्त्रालयमा खिचिएकोप्रति आपत्ति जनाए ।यस्तो कार्य बन्द गरिनु पर्ने उनको भनँइ छ ।यस्तै उनले आरोपितको भिडियो सार्वजनिक गरेमा पनि आपत्ति जनाएका छन् । गरिमाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका आरोपित व्यक्तिको घटनाबारे बताएको भिडियो सार्वजनिक भएको थियो ।।
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बलात्कारपछि हत्या भएका घटनासम्बन्धी प्रचलित कानून संशोधन गर्नुपर्ने बताए । उनले कानून संशोधनको मस्यौदा तयार गरी संसदमा ल्याउन सरकारसँग माग गरे । नेता शाहीले सत्तापक्ष र प्रतिपक्ष नभनि उक्त कानून संशोधन गरी संसदबाट पारित गर्नुपर्नेमा जोड दिए । फरक प्रसंगमा बोल्दै नेता विदेशी स्याउको आयातले गर्दा स्वदेशी स्याउले बजार पाउन नसकेको बताए ।
नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले गरिमा चौधरीको बलात्कारपछि हत्या र खुशी खातुनको हत्याको घटनाले सिंगो राज्यलाई लज्जित बनाएको बताइन् । उनले यस घटनाले सरकारलाई समेत गम्भीर आशंका र प्रश्नको घेरामा उभ्याएको बताइन् ।
बैठकमा बोल्ने अधिकांश सांसदहरुले गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न दोषिहरुलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । उनीहरुले महिलामाथि हुने कुनैपनि प्रकारको हिंसा रोकी सम्मानसाथ बाँच्न पाउने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण समेत गराए ।यस्तै सांसदहरुले पुँजीबजार डुबेको देखि सरकारको काम कारबाही लगाएतका कुराहरुमा प्रश्न उठाएका थिए ।
