काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र साहसँग छलफल गर्ने भएको छ । फोरमको मंगलवार बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग तत्कालै छलफल गर्ने निर्णय गरेको हो ।
काठमाडौं उपत्यका मेयर्सका फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जतिसक्दो छिटो प्रधानमन्त्रीसँग भेटघाटको समय मागेर उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिएका छन् । फोरमले उपत्यकाको फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेपवेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनको वैकल्पिक मार्ग खोल्ने विषयमा पनि निर्णय गर्न आग्रह गर्ने उनको भनाइ छ । फोरमले उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएको जनाएको छ । यसको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको अध्यक्ष महर्जनले बताए । फोरमले भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत आपत्ति जनाएको छ । प्रधानमन्त्रीसँगको भेटमा उक्त विषय पनि उठाउने निर्णय भएको उनको भनाइ छ ।
मेयर महर्जनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि संघीय सरकारले नै नेतृत्व लिनुपर्ने बताए । संघीय सरकारले वैज्ञानिक अध्ययन तथा अनुसन्धान गरी फोहोर व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । संघीय सरकारको फोहोर व्यवस्थापन योजना कार्यान्वयनमा लाग्ने लागतमा व्यहोर्न स्थानीय तह तयार रहेको उनको भनाई छ । संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले फोहोर व्यवस्थापनलाई स्थानीय तहको जिम्मेवारी तोके पनि काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहले छुट्टा–छुट्टै फोहोर प्रशोधन केन्द्र सञ्चालन गर्नु व्यवहारिक नहुने महर्जनको उनको तर्क छ ।फोहोर व्यवस्थापनको लागि अहिले स्थानीय तहसँग जग्गाको स्वामित्व र भोगाधिकारसम्बन्धी समस्या रहेको उनको भनाइ छ । सरकारी जग्गा प्रयोग गर्न लिज वा भोगाधिकार लिनुपर्ने र त्यसका लागि लामो प्रक्रिया पूरा गर्नुपर्ने भएकाले फोहोर व्यवस्थापनमा थप कठिनाइ भइरहेको उनले जानकारी दिए ।
मेयर महर्जनले सिसडोल र बञ्चरेडाँडामा फोहोरका कारण स्थानीय बासिन्दा प्रभावित भइरहेको स्वीकार गर्दै फोहोर मान्छेसंगै राख्न नमिल्ने बताए । स्थानीय तहले प्रभावित क्षेत्रका वासिन्दाहरुलाई क्षमताअनुसार सहयोग गरिरहेको भएपनि उनीहरुको समस्या पूर्ण रूपमा समाधान गर्न नसकिएको उनको भनाई छ । महर्जनले सिसडोल–बञ्चरेडाँडाका बासिन्दाको माग सम्बोधन गर्ने क्षमता स्थानीय तहसँग नहरहेको स्पष्ट पारे ।
काठमाडौं उपत्यकाका सबै पालिका र संघीय सरकारबीच सहकार्यबाट मात्रै काठमाडौंको फोहोर समस्या समाधान गर्न सकिने मेयर महर्जनको भनाई छ । उपत्यकाका सबै मेयरहरू समाधानका लागि तयार रहेको भन्दै उनले प्रधानमन्त्रीले निर्णायक पहल गर्नुपर्नेमा जोड दिए ।
