काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन् ।
महिला उद्यमीहरुले उत्पादन गरेको कृषि र वनमा आधारित उत्पादनको प्रदर्शनी अवलोकनका क्रममा मंगलवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले कृषिमा उत्पादन वृद्धि गर्न माटो सुधार योजनालाई अगाडी बढाएको बताएकी हुन् । उनले माटोसुधार योजनासँगै कृषि उत्पादनमा, बजारीकरण र व्यवसायसँग जोड्न किसान सूचीकरण र डिजिटल मार्केटप्लेस निर्माणका योजनालाई पनि प्राथमिकतामा राखेको बताइन् । नेपालको माटोको पीएचस्तर घट्दै गएको भन्दै उनले दीर्घकालीन रूपमा माटोको उर्वराशक्ति संरक्षण गर्न जैविक, प्राङ्गारिक तथा दिगो कृषि प्रणालीतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन् ।
राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले वन क्षेत्रलाई रोजगारी सिर्जना र महिला उद्यमशीलता प्रवद्र्धनको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने बताए । सामुदायिक वन उपभोक्ता समूह र वनमा आधारित उद्यममार्फत स्थानीय रोजगारी विस्तार गर्न सकिने उनको भनाइ छ । उनले नेपालमा रहेका २३ हजार सामुदायिक वन उपभोक्तामार्फत वन क्षेत्रमा रोजगारी अभिवृद्धिका गर्न अथाह सम्भावना रहेको बताए ।
वन क्षेत्रका लगानी गर्ने र उद्यम विकास गर्ने भन्नेबारे थप अध्ययन आवश्यक रहेको उनको भनाइ छ । सम्भावनायुक्त उत्पादन पहिचान गरी मूल्य श्रृङ्खलाको विकास गर्नसकेमा वन क्षेत्रले रोजगारी, उद्यमशीलता र महिला आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याउने उनको दाबी छ ।