काठमाडौं । नेकपा (एमाले)का सांसद पुष्पराज कँडेलले तिब्बततर्फबाट आएको बाढीबाट मानवीय तथा भौतिक क्षति हुनुका साथै प्रभावित क्षेत्रमा गम्भीर मनोवैज्ञानिक परेको भन्दै सरकारलाई तत्काल उद्धार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले हालसम्म धादिङमा मानवीय क्षतिको विवरण प्राप्त नभए पनि ठूलो मात्रामा भौतिक क्षति भएको जानकारी दिए । उनले धादिङ कयौँ पुलहरु बगाएको तथा जिल्ला सदरमुकामसँगको सम्पर्क विच्छेद भएको जानकारी समेत गराए । यो गम्भीर परिस्थितिमा राहत, पुनस्र्थापना, उद्धार र पुनर्निर्माणमा पूर्ण रूपमा लाग्न सरकारलाई आग्रह गर्दै प्रतिपक्षी दलका तर्फबाट यस कार्यमा पूर्ण सहयोग गर्ने उनलृ प्रतिबद्धता समेत व्यक्त गरे ।
उनले भने, ‘बाढीले मानवीय र भौतिक क्षति गर्नुका साथै यसले मानवीय मनोविज्ञान समेत ठुलो असर पारेको स्थिति छ । यसमा हामी सबैले दुःख व्यक्त गर्दछौँ नै । धादिङको सन्दर्भमा अहिलेसम्म मानवीय क्षति भएको कुनै जानकारी आएको छैन । भौतिक क्षति थुप्रै भएको छ । पुलहरु धेरै बगाएको छ भन्ने खबर आएको छ । सदरमुकामसँगको सम्पर्क टुटेको स्थिति छ । धादिङमाभन्दा नुवाकोटमा र नुवाकोटमा भन्दा रसुवामा बढी क्षति भएको अनुमान गर्न सकिन्छ । सरकारले यस विपतमा खोज तथा राहत र पुनस्र्थापना र पुनर्निमाणमा पनि सहयोग गरोस् । हामी प्रतिपक्षी दलहरुको तर्फबाट सहयोग दिने प्रतिवद्धता जाहेर गर्दछौँ ।’
तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको बाढी नुवाकोट, धादिङ हुँदै चितवनसम्म पुगेको छ ।
