३० आश्विन २०८३, शुक्रबार

उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउनु हुँदैन : गगन थापा

0
Shares


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङ मार्गमा भइरहेको उद्धार कार्यमा स्वदेशी विज्ञताले मात्र नभ्याउने देखिएकोले विदेशी सहयोग लिन सरकार हिचकिचाउनु नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उनले मुलुकमा आइपरेको प्राकृतिक विपद्को घडीमा सरकारलाई पूर्ण साथ दिँदै कमजोरी सच्याउन खबरदारी गर्ने समेत बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा आइपरेको प्राकृतिक विपद्को घडीमा सरकारलाई पूर्ण साथ दिँदै कमजोरी सच्याउन खबरदारी गर्ने बताएका छन् । बाढी–पहिरो पछिको अवस्था र पार्टीको भुमिकाबारे छलफल गर्न पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित बैठकमा उनले विपद् व्यवस्थापनलाई संस्थागत र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् । सभापति थापाले जाजरकोट भूकम्प लगायतका विगतका विपद्हरूबाट सिकेको ज्ञानलाई संस्थागत गर्नुपर्ने बताए । पार्टीका कार्यकर्ताहरूलाई तालिम दिएर मैदानमा खटाउँदा त्यसले राहत र उद्धारमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ । काँग्रेस उनले पार्टीका तर्फबाट बुझाइएको ९ बुँदे ध्यानाकर्षण पत्रलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीको पुनः ध्यानाकर्षण गराए । विशेषगरी राहत वितरणमा स्थानीय सरकारलाई नै नेतृत्व सुम्पिनुपर्ने उनको तर्क छ । मुलुक शोकमा रहेको र हजारौँ नागरिक प्रभावित भएको अवस्थामा पार्टीका कुनैपनि तहले सार्वजनिक उत्सव र कार्यक्रम नगर्न थापाले निर्देशन दिए ।

 

काँग्रेस नेता तथा संसदीय दलका पदाधिकारी सम्मिलित टोलीले बाढी र पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी सरकारको ध्यानाकर्षण गराएका छन् ।नुवाकोटको विदुर, देवीघाट लगायतका बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले त्यहाँको अवस्था कल्पनाभन्दा बाहिर र भयावह रहेको बताएका हुन् । निरीक्षणका क्रममा नेता आङदेम्बेले विदुर र आसपासका क्षेत्रमा बाढीले पु¥याएको क्षति निकै ठूलो रहेको जानकारी दिए । निरीक्षणका क्रममा प्रशासनिक निकाय र सरकारबीचको समन्वयमा कमजोरी देखिएको काँग्रेस नेताहरूको निष्कर्ष छ । नेता आङदेम्बेले बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनमा आफन्तको अनुमति नलिइएको विषयप्रति गम्भीर आपत्ति जनाए ।

 

काँग्रेस संसदीय दलकी प्रमुख सचेतक बासना थापाले बाढी प्रभावित क्षेत्रमा लागू गरिएको ‘एकद्वार प्रणाली’ का कारण महिला र बालबालिकाका विशेष आवश्यकता र अधिकारका विषयहरू ओझेलमा परेको बताइन् । स्थलगत अनुगमनका क्रममा राहत र उद्धार कार्यमा केही सकारात्मक प्रयास देखिए पनि वितरण प्रक्रियामा भने गम्भीर त्रुटी पाइएको उनको भनाइ छ ।

 

काँग्रेसका नेता एवं वागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लामा बाढी र पहिरोले अकल्पनीय क्षति पु¥याएको भन्दै तत्काल उद्धार र राहतका लागि सरकारसँग माग गरे । गोसाइँकुण्ड मेला र जनैपूर्णिमाको समयमा आएको यस प्राकृतिक विपद्ले तीर्थयात्री र स्थानीय बासिन्दालाई गम्भीर रूपमा प्रभावित पारेको उनको भनाइ छ ।

 

काँग्रेस नेता जगदीश्वर नरसिंह केसीले नुवाकोट, रसुवा र धादिङका बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारी राहत र उद्धार कार्य सुस्त भएको भन्दै आपत्ति जनाए । विपद्को समयमा राज्यको उपस्थिति कमजोर देखिएको उनको भननइ छ । उनले राहत सामग्री सङ्कलन भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको दाबी गरे

 

प्रधानमन्त्री र गृहमन्त्रीको प्रभावित क्षेत्र भ्रमणलाई लक्षित गर्दै उहाँले उच्चस्तरीय भ्रमण ‘फोटो खिच्न’ मा मात्र सिमित भएको टिप्पणी गरे । नेता केसीले विपद्को यो घडीमा पार्टीका नेता–कार्यकर्ताहरूलाई कुनै पनि राजनीतिक प्रचारबाजी वा पहिचानबिना इमानदार भएर मानवीय सेवामा जुट्न आग्रह गरे ।