३० आश्विन २०८३, शुक्रबार

रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको शव फेला

0
Shares


काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको शव भेटिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३ भदौ १५ गते बिहान ९ बजेसम्मको अद्यावधिक विवरणअनुसार बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । प्राधिकरणकाअनुसार बाढीले बगाएका शवहरू विभिन्न जिल्लाहरूमा फेला परेका छन् । जसअन्तर्गत चितवनमा २ सय ७२, नवलपरासी पूर्वमा २ सय ७, नवलपरासी पश्चिममा १ सय ५१, नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये केही मानव अङ्ग मात्र रहेको र पहिचान हुन नसकेका शवहरूलाई विभिन्न २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ । हालसम्म २ सय ६७ जना घाइते भएकोमा १ सय ५६ जना उपचारपछि घर फर्किसकेका छन् ।

विपद्का कारण अझै ४ हजार २ सय ४७ जना सम्पर्कविहीन रहेका छन् । खोज तथा उद्धार कार्यका लागि सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । हालसम्म नेपाल प्रहरी ७ हजार ८ सय ९४, नेपाली सेना ८ हजार ७ सय २२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ गरी कुल २० हजार ८ सय १९ सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिएका छन् । राहत वितरण कार्यलाई पनि तिब्रता दिइएको छ । सरकारले रसुवा र नुवाकोट जिल्लालाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । त्यस्तै प्रभावित १५ वटा पालिकाहरूलाई कुल ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।स्थल तथा हवाई मार्गबाट राहत सामग्री ढुवानी भइरहेको छ । हालसम्म ३७ ट्रक र ३५ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ ।