काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी विपद्बाट सिर्जित समस्याको समाधान र पुनर्निर्माणका लागि सरकारले तिब्र रूपमा काम अगाडि बढाउने बताएका छन् ।
सोमवार सिंहदरबारमा आयोजित सरोकारवाला निकायहरूको बैठकमा बोल्दै उनँले उद्धार, राहत र पुनर्निर्माणलाई थप व्यवस्थित बनाउन पाँचवटा छुट्टाछुट्टै कार्यदल गठन गरिने जानकारी दिएका हुन् । अर्थमन्त्री वाग्लेले भौतिक पूर्वाधार, सडक, पुल (झोलुङ्गे, तुइन र बेली ब्रिज), खानेपानी तथा सरसफाई र सुरुङमार्ग उद्धारका लागि तत्काल कार्यदलहरूले काम शुरु गर्ने स्पष्ट पारे । सुरुङमार्गमा हुनसक्ने जोखिम र उद्धारका लागि नेपाली सेना र नेपाल विद्युत प्राधिकरणको समन्वयमा विशेष टोली परिचालन गरिने उनको भनाइ छ । विपद् व्यवस्थापन कोषमा रकम जम्मा भएपनि लक्षित वर्गसम्म पुग्न नसकेको जनगुनासोप्रति सजग रहँदै मन्त्री वाग्लेले कर्मचारीतन्त्रीय ढिलासुस्ती नगरी तत्काल कोष परिचालन गर्न निर्देशन दिए । उजले स्थानीय तहलाई रकम हस्तान्तरण गर्ने प्रक्रियालाई कानूनी दायराभित्रै रहेर सहज र द्रुत बनाइने प्रतिवद्धता व्यक्त गरे ।
मन्त्री वाग्लेले ‘विपद्पछिको आवश्यकता आँकलन’ (पीडीएनए) दुई चरणमा गरिने बताए । पुनर्निर्माणका लागि छुट्टै प्राधिकरण बनाउने वा मौजुदा कानूनी संरचनाबाटै अघि बढ्ने भन्ने विषयमा थप छलफल गरिने अर्थमन्त्रीले जानकारी दिए । विशेषगरी पूर्वाधार मन्त्रालयको जिम्मेवारी बढेको भन्दै उनले कानूनी जटिलता फुकाउन ऐन संशोधनको प्रक्रियामा पनि जान सकिने बताए । जलवायु परिवर्तनका कारण निम्तिएका यस्ता विपद्का मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न संयुक्त राष्ट्रसंघको महासभा जस्ता मञ्चहरूमा प्रमाणसहित प्रश्तुत गरिने उनको भनाइ छ ।।
