२ कार्तिक २०८३, आइतबार

रसुवा बाढीमा परी निधन भएका १ हजार १ सय १४ जनाको शव फेला

0
Shares


काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी निधन भएका १ हजार १ सय १४ जनाको शव फेला परेको बताएको छ ।

प्राधिकरणको बुधवार बिहन सम्मको तथ्याङ्कअनुसार, बाढी र पहिरोजन्य विपद्मा परी हालसम्म मृत्यु हुनेको संख्या १ हजार १ सय १४ पुगेको हो । प्राधिकरणकाअनुसार बाढी र पहिरो परी निधन भएकाहरु चितवनमा सबैभन्दा बढी ३ सय ४८ जनाको शव फेला परेको छ । नवलपरासी पूर्वमा २ सय १७, नवलपरासी पश्चिममा १ सय ९०, नुवाकोटमा १ सय ५५, गोरखामा ६६, धादिङमा ५९, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ । यस विपद्मा हालसम्म २९२ जना घाइते भएका छन् । जसमध्ये १८२ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार जारी छ ।

 

घाइतेहरूको उपचारका लागि नेपाली सेनाले २ हजार ९ सय १५ र सशस्त्र प्रहरी बलले १ हजार १ सय ५५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । विपद्का कारण करिव ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन छन् । बेपत्ता हुनेहरूमा सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, विदेशी नागरिक, पर्यटक तथा स्थानीय बासिन्दा र जलविद्युत आयोजनामा कार्यरत श्रमिकहरू रहेका छन् । प्राधिकरणका अनुसार हालसम्म ११ हजार ९ सय ९३ जनाको सफल उद्धार गरिएको छ । उद्धार कार्यका लागि २१,३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेनाले ६ सय २२ पटक हवाई उडान गरी ४ हजार ९१ नेपाली र २ सय ७३ विदेशी नागरिकको उद्धार गरेको छ । यस्तै, ३ हजार ४ सय ५३ जनालाई विभिन्न जिल्लाका होल्डिङ सेन्टरहरूमा राखिएको छ । सरकारले प्रभावित जिल्ला र पालिकाहरूका लागि राहत रकम निकासा गरेको छ । रसुवा र नुवाकोट जिल्लालाई १÷१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ । यसका साथै प्रभावित १५ वटा पालिकाका लागि थप ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको प्राधिकरणले जनाएको छ ।

राहत सामग्रीतर्फ ३७ ट्रक र ३७ बोलेरोमार्फत खाद्यान्न तथा गैर–खाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पु¥याइएको छ । दुर्गम क्षेत्रहरूमा ७७ पटक हेलिकप्टर उडानमार्फत राहत सामग्री ढुवानी गरिएको छ ।