काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र साहसँग भेट गरी मुलुकको विद्यमान विपद् व्यवस्थापन, उद्धार कार्य र पूर्वाधार विकासका सन्दर्भमा सुझावहरू पेश गरेका छन् ।
बिहीवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको उक्त भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी विपत्तिबाट सिर्जित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित तथा मौखिक सुझावहरू दिएका हुन् । भेटका क्रममा घिसिङले मुलुकमा आइपरेको संकटको घडीमा उद्धार (रेस्क्यु), राहत (रिलिफ) र पुनस्र्थापना (रिसेटलमेन्ट) का कार्यलाई एकीकृत रूपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए । विशेषगरी बाढी र पहिरोका कारण सुरुङभित्र फसेका नागरिकहरूको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड दिन उनले आग्रह गरे । सडक सञ्जालको पुनःस्थापनाका विषयमा छलफल गर्दै उनले स्याफ्रुबेँसी लगायतका क्षेत्रमा अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन र रणनीतिक स्थानहरूमा बेलिब्रिज निर्माण गर्न सुझाव दिए । यस्तै, ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै घिसिङले क्षतिग्रस्त जलविद्युत आयोजनाहरूलाई चाँडै सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताए ।
अध्यक्ष घिसिङले भने, ‘सुरुङभित्रको अवरोध हटाउन र उद्धार कार्यलाई प्रभावकारी बनाउन विशेष उपकरणहरूको आवश्यकता छ । भौगोलिक विकटताका कारण उपकरण पु¥याउन कठिन भएका स्थानमा हेलिकोप्टरमार्फत हेभी इक्युपमेन्ट ढुवानी गरेर भए पनि कामलाई गति दिनुपर्छ । करिव २३५ मेगावाटका आयोजनाहरू प्रभावित भएका छन् । निजी क्षेत्रका प्रवद्र्धकहरूलाई प्रोत्साहन गर्न र बीमा भुक्तानी प्रक्रियालाई सहज बनाउन सरकारले नीतिगत सहजीकरण गर्नुपर्छ ।’
भेटका अवसरमा दीर्घकालीन सुरक्षाका लागि जलविद्युत आयोजनाहरूको डिजाइनमा पुनरावलोकन गर्नुपर्ने र बेसिन म्यानेजमेन्ट (नदी किनारा व्यवस्थापन) मा ध्यान दिनुपर्ने विषयमा पनि चर्चा भएको छ । घिसिङले जोखिम विश्लेषण गरेर मात्र नदी किनारमा सडक र अन्य संरचना निर्माण गर्न सुझाव दिए । जवाफमा प्रधानमन्त्रीले घिसिङद्वारा प्रश्तुत सुझावहरूलाई सकारात्मक रूपमा लिँदै विपद् व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञहरूको सल्लाह बमोजिम प्रभावकारी कदम चाल्ने आश्वासन दिए ।
अध्यक्ष घिसिङले विपद् पछिको शव व्यवस्थापन र सडक सञ्जाल पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । स्थलगत अवलोकनका क्रममा देखिएका समस्या र जनस्तरमा व्याप्त आक्रोशका बारेमा उनले जानकारी गराएका हुन् । प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले शव व्यवस्थापनमा भएको ढिलाइप्रति स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूमा ठूलो असन्तुष्टि देखिएको बताए । घिसिङले अवरुद्ध सडक सञ्जाललाई सुचारु गर्न विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए । सडक कनेक्टिभिटीमा ढिलाइ गर्न नहुने भन्दै उहाँले यसबारे सरकारलाई स्पष्ट सुझाव दिएको जानकारी दिए । होल्डिङ सेन्टरहरूमा आश्रित बालबालिका, महिला र ज्येष्ठ नागरिकहरूको अवस्थाबारे पनि छलफल भएको छ । ती केन्द्रहरूमा स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्थापन गर्नुपर्ने विषयलाई गम्भीरताका साथ उठाइएको उनले बताए । भेटका क्रममा प्रधानमन्त्री साहले होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरूलाई काठमाडौं ल्याएर उचित व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेको घिसिङको भनाइ छ ।
उनले भने, ‘अब लाश व्यवस्थापनको विषयमा गम्भीर रूपमा सोच्नुपर्छ । लाश व्यवस्थापनमा अलिकति ढिलाइ भयो भन्ने आक्रोश छ । तल देखिएको आक्रोश जुन स्थानीय निकायको थियो र स्थानीय जनताको थियो, त्यो आक्रोश हामीले बुझेका छौँ । हामी फिल्डमै गएर आएपछि त्यहाँका सबै कुरा र जुन आक्रोश हामीसँग व्यक्त भइरहेको थियो, त्यो कुरा पनि हामीले प्रधानमन्त्रीज्यूलाई राखेका छौँ । अब सडक कनेक्टिभिटीलाई पनि, रोड कनेक्टिभिटीलाई पनि विशेष प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ । त्यसलाई ढिलाइ गर्नु हुँदैन भन्नेकुरामा हामीले प्राथमिकता दिएर उहाँहरूलाई सुझाव दिएका छौँ । अब मुख्य गरेर होल्डिङ सेन्टरमा बस्ने साथीहरू जति छन्, जुन बालबच्चादेखि महिला, वृद्धवृद्धासम्म छन्, त्यसलाई सामाजिक रूपले र स्वास्थ्यको हिसाबले, सबै हिसाबले व्यवस्थित कसरी बनाउने भन्ने विषय पनि एकदम गम्भीर रूपमा उठेको छ । त्यसलाई पनि व्यवस्थापन गर्न सरकार एकदम गम्भीर छ भनेर उहाँले भन्नुभएको छ । अब बालबालिकाहरूलाई चाहिँ काठमाडौंमै ल्याएर राख्ने भन्ने प्रधानमन्त्रीज्यूले भर्खरै मेरै अगाडि भन्नुभएको छ। त्यो भएको हुनाले हामी डेडिकेटेड भएरै लागिरहेका छौँ । अब केही समय हाम्रो विजिताको के रे, हाम्रो जुन किसिमको प्रिपेयर्डनेस हुनुपर्ने हो, त्यो प्रिपेयर्डनेस नभएर पनि यो फेरि ठूलो किसिमको डिजास्टर आएको छ । त्यसले गर्दा पनि ल्याप्सहरू त भएकै छन् । होइन र ? त्यो ल्याप्सलाई करेक्सन गरेर अब सबैले यसलाई एकताबद्ध भएर समाधानतिर कसरी लैजाने भन्ने विषयमा हामी पनि लाग्नुपर्छ ।’
विपद्को पूर्वतयारीमा कमजोरी भएको स्वीकार गर्दै उनले विपद्को यो घडीमा सरकार गम्भीर हुनुपर्ने र सबैले जिम्मेवार भएर सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।
