काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितहरूलाई प्रत्यक्ष रूपमा राहत पु¥याउनु पार्टीको मुख्य प्राथमिकता रहेको बताएका छन् ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय, च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा ओलीले एमालेले आफ्नै सामथ्र्य र कार्यकर्ताहरूको परिचालनमार्फत राहत सङ्कलन तथा वितरण कार्य गरिरहेको जानकारी दिएका हुन् । उनकाअनुसार पार्टीले प्रारम्भिक रूपमा करिव १ करोड २० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामग्री वितरण गर्ने लक्ष्य राखेको भए तापनि राहतको कुल परिमाण त्योभन्दा बढी हुने देखिएको छ । उनले थप स्पष्ट पार्दै राहत सरकारी कोषलाई नभई पीडितलाई आवश्यक भएको र उद्धार एवं राहतका कार्य सम्पन्न भएपछि अवस्था हेरेर सरकारी कोषमा पनि सहयोग गर्न सकिने बताए ।
अध्यक्ष ओलीले प्राकृतिक विपद्को घडीमा कृत्रिम तस्बिरको सहारा लिएर सस्तो लोकप्रियता कमाउन खोज्ने प्रवृत्तिको आलोचना गरे । उनले अहिलेको मुख्य प्राथमिकता उद्धार, राहत तथा पुरिएका संरचनाबाट धनमाल निकाल्ने कार्यमा हुनुपर्नेमा जोड दिए । बाढीपहिरोका कारण देशले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनले प्रविधिको दुरुपयोग गरी कृत्रिम दृश्यहरू निर्माण गरेर प्रचारबाजीमा लाग्नेहरूप्रति असन्तुष्टि व्यक्त गरे ।