काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देशलाई थप द्वन्द्व र विद्रोहमा धकेल्ने नभई सबै राजनीतिक शक्तिबीच राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
लामो समयदेखि चल्दै आएको निषेधको राजनीतिले मुलुकलाई निकास दिन नसकेको भन्दै उनले अब राजादेखि सबै राजनीतिक शक्तिसम्मलाई समेटेर राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताए । आईतवार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै लिङदेनले देशले १० वर्षे द्वन्द्वपछि गत वर्षको भदौ २३ र २४ गतेको विद्रोह तथा त्यसबाट भएको ठूलो क्षतिसमेत व्यहोरिसकेको भन्दै अब थप द्वन्द्व र विद्रोह धान्नसक्ने अवस्थामा नरहेको बताए । उनले कुनै समय राजाले राजनीतिक दललाई र कुनै समय राजनीतिक दलहरूले राजालाई निषेध गरेको उल्लेख गर्दै निषेधको राजनीतिले मुलुकलाई कहाँ पु¥यायो भन्नेकुरा सबैले बुझिसकेको बताए । अब त्यस्तो राजनीति त्यागेर राष्ट्रिय सहमतिको माध्यमबाट देशलाई निकास दिनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष लिङदेनले राष्ट्रिय सहमति कायम गरी देशमा शान्ति र स्थिरता स्थापना गर्नुपर्ने तथा आगामी ५ देखि १० वर्षभित्र नेपाललाई विकसित मुलुकको दाँजोमा पु¥याउने अभियानमा सबै राजनीतिक दल र शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए । राष्ट्रिय एकता र सहमतिको पक्षमा आफूहरूले आवाज उठाइरहेकाले त्यसलाई विश्वसनीय बनाउन राप्रपा आफैँ बलियो र एकतावद्ध हुनुपर्नेमा पनि लिङदेनले जोड दिए । पार्टी कमजोर र विभाजित भएमा अरू राजनीतिक शक्ति र जनताले राप्रपामाथि विश्वास नगर्ने उनको भनाइ छ ।
अध्यक्ष लिङदेनले पार्टीको आगामी महाधिवेशन कुनै कारण वा बहानामा नरोकिने स्पष्ट पारे । मङ्सिर २६, २७ र २८ गते हुने महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्दै त्यसलाई पार्टी पुनर्निर्माणको अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ छ । आईतवार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै लिङदेनले पार्टीभित्र देखिएका कमजोरी सच्याएर नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताए । विगतका गल्ती र कमी–कमजोरीलाई निरन्तरता दिने प्रयास भइरहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
