काठमाडौं । सांसदहरुले महंगी नियन्त्रण देखि भोटेकोशी बाढी प्रभावित सम्मलाई राहत तथा पुर्नस्थापित गर्नुपर्ने कुरामा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनिहरुले बाढी प्रभावित क्षेत्रका व्यवसायी तथा आमनागरिकले बैंकबाट लिएको ऋणको ब्याज तथा विद्युत्को महसुल पुनस्र्थापना नहुन्जेलसम्म सरकारले मिनाहा गर्नुपर्ने माग राखेका छन् । यस्तै सत्तारुढ दलले संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर जेन–जी शहीद परिवारले सिंहदरबार गेटअगाडि गरेको प्रदर्शनको विरोध गरेको छ ।एक रिपोर्ट
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर जेन–जी शहीद परिवारले सिंहदरबार गेटअगाडि गरेको प्रदर्शनको विरोध गरेको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा पार्टी महामन्त्री विपिनकुमार आचार्यले विरोध जनाएका हुन् । फरक विचार राखेकै आधारमा सांसदलाई धम्की दिने तथा हिंसात्मक गतिविधिको चेतावनी दिने कुरा कुनैपनि हालतमा स्वीकार्य हुन नसक्ने उनको भनाइ छ । उक्त कार्यमा संलग्नलाई तत्काल कानूनी कारबाहीमा ल्याउन आफूले गृह मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयलाई अनुरोध गरिसकेको उनले सदनलाई जानकारी गराए तथ्यमा आधारित भएर बोल्ने सांसदलाई संसद्ले निर्भीक भएर आफ्नो धारणा राख्ने वातावरण बनाउनुपर्नेमा समेत उनले जोड दिए ।
नेपाली कांग्रेसकी सांसद सीता थपलियाले धादिङको फुर्केखोलाको पुल बगेको २३ दिनसम्म पनि बेलीब्रिज नबनाएकोमा आपत्ति जनाएकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले भोटेकोसी बाढीका कारण त्रिशूली नदीमा रहेको पुल बगाउँदा सरकार कानमा तेल हालेर बसेको टिप्पणी गरिन् । उनले के नेपालको नक्सामा धादिङ भन्ने जिल्ला हटेको हो ? भनि प्रश्न गरिन् । बाढी प्रभावित धादिङ, रसुवा, नुवाकोटका व्यवसायी तथा आमनागरिकले बैंकबाट लिएको ऋणको ब्याज तथा विद्युत्को महसुल पुनस्र्थापना नहुन्जेलसम्म सरकारले मिनाहा गर्नुपर्ने माग राखिन् । पीडितहरूको आधारभूत आवश्यकताको ग्यारेन्टी सरकारले गर्नुपर्ने उनको भनाइ छ । उनले सरकारको १०० प्रतिबद्धता सम्झाउँदै नागरिकले विकल्प खोज्न थालेको उनको भनाइ छ ।
एमालेकी सांसद एशुदाकुमारी बरालले बढ्दो महंगी नियन्त्रण तथा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन पहल गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरिन् । बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो ? भन्दै उनले प्रश्न गरिन् । बजारमा खाना पकाउने ग्यास नपाउँदा सर्वसाधारण भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको बताउदै उनले ग्यास अभाव र दैनिक उपभोग्य वस्तु महंगीँदा समेत सरकार जवाफदेही हुन नसकेको आरोप लगाइन् ।
एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भुमिका रहेको भनी आएको समाचारबारे सरकारसँग जवाफ माग गरे ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सरकारले कर्मचतारीतन्त्रमाथि व्यापक प्रहार गरिरहेको आरोप लगाए । सरकारले कर्मचारीमाथि अस्वभाविक सिर्जना गर्ने र आतंकित पार्ने कार्य गरिरहेको आरोप ल गाउदै उनले कर्मचारीमाथि अस्भाविक नियन्त्रण राख्न खोजेको विषयमा आपत्ति समेत जनाए । उनले सर्वोच्च अदालतमा बुधवार भएको आगलागीबारे पनि आंशका व्यक्त गरे । सर्वोच्च अदलातमा बारम्बार आगलागी किन र कसरी भइरहेको छ ? भन्द्र प्रश्न समेत गरे । यस्नै सांसद शाहीले आगजनीबाट बचेका मुद्दाको मिसिल रहस्यमय ढंले जिल्ला अदालत काठमाडौंबाटै चोरी भएको उल्लेख गर्दै यस विषयमा गम्भीर छानविन गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले भोटेकोसी बाढीमा बेपत्ता भएकाहरूलाई मृतक घोषणा गर्न माग गरे । अब अरु विकल्प नदेखिएको उनको दाबी छ ।
बैठकमा बोल्ने अन्य सांसदहरुले पनि रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडितलाई राहत र पुर्नस्थापना गर्न तथा बजारमा देखिएको महंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।।
