काठमाडौं । नेपाली कांग्रेसको संशोधित विधान पारित भएपछि सोही अनुसार उम्मेदवारी मनोनयन तथा निर्वाचन तालिका सार्वजनिक भएको छ ।
निर्वाचन तालिका अनुसार मंगलबार मनोनयन दर्ता हुनेछ ।यस्तै सोही दिन बन्द शत्र पनि जारी रहने छ । बुधबार पनि बन्द शत्र र प्रचार प्रसार जारी रहनेछ । २२ गते खुला मञ्च प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय सभागृहमा निर्वाचन हुने छ । त्यसपछि सानेपा पार्टी केन्द्रीय कार्यालयमा लगेर मतगणना हुने तालिका रहेको छ ।
संशोधित विधानमा केन्द्रीय कार्यसमिति २ सय ९७ सदस्यीय हुने भएको छ ।विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक र उपसभापति चार जना रहनेछन् ।चार उपसभापतिमध्ये एक जना महिला अनिवार्य गरिएको छ । महामन्त्री तीन जना रहनेछन्, जसमा एक जना महिला अनिवार्य गरिएको छ । सहमहामन्त्री १५ जना रहनेछन् ।कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट एक जना मनोनीत हुनेछन् । केन्द्रीय सदस्यमा खुलातर्फ ४५, महिलातर्फ १५ तथा प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना रहनेछन् । काठमाडौँ उपत्यकाबाट एक महिलासहित दुई जना रहने व्यवस्था गरिएको छ ।दलिततर्फ पाँच महिलासहित १४, आदिवासी जनजातितर्फ आठ महिलासहित २०, खस आर्यतर्फ आठ महिलासहित १८ र मधेशीतर्फ पाँच महिलासहित १३ जना रहनेछन् ।
जनसम्पर्क समितिबाट दुई महिलासहित सात तथा पिछडिएको वर्गबाट तीन जना रहनेछन् ।त्यस्तै, थारूतर्फ दुई महिलासहित छ, श्रमिकतर्फ एक महिलासहित तीन र पेसागत विज्ञतर्फ दुई महिलासहित सात जना रहनेछन् । सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा, अपाङ्गता भएका व्यक्तिबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य रहनेछन् ।यसका अतिरिक्त केन्द्रीय कार्यसमितिले ६६ जना सदस्य मनोनीत गर्ने व्यवस्था गरिएको छ ।
