काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत देशभरबाट आएका ७ हजार बढी प्रतिनिधिले २९७ सदस्यीय कार्यसमिति चयन गर्दैछन् ।
गत आइतबार देखि शुरु भएको कांग्रेसको महाधिवेशनबाट देशभरबाट आएका ७ हजार बढी प्रतिनिधिले २९७ सदस्यीय कार्यसमिति चयन गर्न लागेका हुन् । अन्य पदका लागि मत दान भएपनि वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा तथा महिला–१ उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् । यस्तै केन्द्रीय सदस्य काठमाडौं उपत्यका–१ जनामा प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएकी छन् । यसअघि बिहिबार मतदान हुने भनिएपनि प्राविधिक तयारी र प्रतिकूल मौसमका कारण बिहीवार स्थगित गरिएको मतदान प्रक्रिया शुक्रवार बिहानबाट सुचारु भएको हो ।
महाधिवेशन एक दिन लम्बिएपछि उत्पन्न हुनसक्ने खर्चको भारलाई मध्यनजर गर्दै आर्थिक व्यवस्थापन समितिले शुक्रवारको आवास र खाना खर्च पार्टीले नै व्यहोर्ने निर्णय गरेको छ । यसले प्रतिनिधिहरूमा थप उत्साह थपेको छ । १५ औँ महाधिवेशनमार्फत काँग्रेसले विधान संशोधन गरी २९७ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिति चुन्न लागेको हो । मतदान सकिएलगत्तै मतपेटिकाहरू सुरक्षित रूपमा व्यवस्थापन गरी शुक्रबार साझ बाटै मतगणना शुरु गर्ने समितिले तयारी गरेको छ । पदाधिकारीमा कडा प्रतिष्पर्धा रहेकाले यसपटकको महाधिवेशनको नतिजालाई पार्टीको भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण कडीका रूपमा हेरिएको छ ।