३० आश्विन २०८३, शुक्रबार

पार्टीभित्र एकता कायम गर्न र फरक मत राख्ने सबैलाई समेटेर अघि बढ्न कांग्रेसका नेता श्याम खड्कीको आग्रह

0
Shares


काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले १५औं महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापालाई बधाई दिँदै पार्टीभित्र एकता कायम गर्न र फरक मत राख्ने सबैलाई समेटेर अघि बढ्न आग्रह गरेका छन्

सभापतिमा प्रतिस्पर्धा गरेका खड्गीले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचन परिणामलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्दै पार्टीको एकता, आपसी सम्बन्ध र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले निर्वाचनमा सहभागी भएर मतदान गर्ने महाधिवेशन प्रतिनिधि तथा आफूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ, सहयोग र हौसला प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । निर्वाचनको परिणाम जस्तो भए पनि आफूलाई प्राप्त माया, विश्वास र सद्भावलाई अमूल्य राजनीतिक सम्पत्तिका रूपमा लिएको उनको भनाइ छ । उनले विशेष महाधिवेशन र नियमित महाधिवेशनका क्रममा पार्टीभित्र उत्पन्न असमझदारी तथा विभाजनका भावनालाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।छुट्टै महाधिवेशनको बाटोमा रहेका नेताहरूलाई समेत संवाद, सहमति र सम्मानका माध्यमबाट पार्टी एकताको मूलधारमा समेट्नु आजको प्रमुख आवश्यकता रहेको उनको भनाइ छ ।

नेतृत्वको वास्तविक सफलता निर्वाचन जित्नुमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले फरक मत राख्ने नेताकार्यकर्ताको विश्वास जित्नुपर्ने बताएका छन् । कांग्रेसलाई सशक्त, एकताबद्ध र जनताको भरोसायोग्य पार्टी बनाउन गुटगत स्वार्थभन्दा माथि उठ्नुपर्ने उनको धारणा छ ।