३० आश्विन २०८३, शुक्रबार

यन्त्र उपकरणसहित उद्धार कार्यमा जुट्न निर्माण व्यवसायी महासंघको अपिल

0
Shares


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले विपद्बाट नागरिकलाई बचाउने काममा लाग्न अपिल गरेको छ । केही दिन यता अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहत कार्यमा जुट्न आह्वान गरेको हो ।

आईतवार महासंघका महासचिव रोशन दाहालले महासंघको तर्फबाट प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरे। उनले तत्काल घाइतेको उपचारको भरपर्दो व्यवस्था मिलाउन सरकारसँग माग गरे । बाढी पहिरोका कारण घाइते भएका सर्वसाधारणसहित क्षतिग्रस्त परियोजनाका सम्बन्धित निर्माण कम्पनीहरू÷व्यवसायीहरूलाई यथाशिघ्र राहत उपलब्ध गराउन पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

साथै विपद्को घडीमा देशभरका अवरुद्ध राजमार्ग तथा बाटाघाटा सुचारु गर्नका लागि सम्बन्धित सबै निकायलाई आ—आफ्ना यन्त्र उपकरण उपलब्ध गराइ सहयोग गर्न निर्माण व्यवसायीहरूलाई अपिल गरेको छ । पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन समेत सरकार समक्ष आग्रह गर्दै महासंघले सरकारको उद्धार तथा राहत अभियानमा सक्रिय रुपमा सहभागी हुन सबै व्यवसायीलाई अनुरोध गरेको छ ।

महासंघले बाढी पहिरोको चपेटामा परेका देशभरका निर्माण व्यवसायीहरूलाई क्षतिको विवरण महासंघ सचिवालयमा उपलब्ध गराउन पनि अपिल गरेको छ ।