३० आश्विन २०८३, शुक्रबार

मिन गुरुङसँग स्वार्थ बाझिने गरी जग्गा लिएको विरोध भए पनि टसको मस भएन एमाले (भिडियो)

0
Shares


विवादित पुष्ठभूमिका ब्यापारी मिनबहादुर गुरुङले दिएको जग्गामा नेकपा एमालेले पार्टी कार्यालय शिलान्यास गरेपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । सत्ता र प्रतिपक्ष दल मात्रै होइन पार्टीभित्रै ब्यापारीबाट जग्गा दान लिइएको भन्दै असन्तुष्टि चुलिएको छ । तर, एमालेले गुरुङले पारदर्शी र खुला दिलले दिएको जग्गामै पार्टी कार्यालय बन्ने दाबी गरेको छ । उसले अनावश्यक टिकाटिप्पणी समेत नगर्न आग्रह गरेको छ । यस सम्बन्धमा बागमती टेलिभिजनका समाचार संयोजक बालकृष्ण शर्माले एक रिपोर्ट तयार गरेका छन् ।

दशैंको मध्यतिर नेकपा एमालेले २०७२ को भूकम्पपछि पार्टी कार्यालयका लागि गरेको संघर्ष अव अन्त्य हुने भयो भन्दै कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क दान पायो । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मिनबहादुर गुरुङले दान दिएको जग्गामा आलिसान भवन बनाउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भब्य रुपमा शिलान्यास पनि गरे । तर, दशैं सकिदै जाँदा एमालेमाथि विवादित ब्यक्तीले दिएको जग्गामा पार्टी कार्यालय बनाउन लागेको भन्दै चर्को आलोचना भइरहेको छ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका मिनबहादुर गुरुङको फैसला हुन बाँकी छ । धरौटीमा छुटेका मिनबहादुर गुरुङले एमालेलाई जग्गा दिएर सौदाबाजी गरेको आरोप लागिरहेको छ । सत्ता पक्ष दल कांग्रेसकै नेताहरुले पनि एमालेको निर्णयले अच्चमित बनाएको भन्दै फिर्ता लिन आग्रह गरेका छन् । व्यवसायीहरुले राजनीतिक दलहरुलाई सानो सहयोग गर्नेकुरा राम्रो भएपनि एक अर्ब भन्दा बढीको सहयोगले गम्भीर आशंका पैदा गरेकोले जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुपर्ने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा बताउछन् ।

ब्यापारीले दिएको जग्गामा पार्टी कार्यालय बनाउने बिषयको टिप्पणी थरीथरीका छन् । कतिपयले एमालेको सुशासन किर्तिपुरको जग्गामा गएर सकिएको समेत आरोप लगाइरहेका छन् । तर, एमालेले पार्टी केन्द्रीय कार्यालय भवनका लागि व्यवसायी गुरुङ दम्पतीले पारदर्शी र खुला दिलले दान गरेकाले स्वीकार गरेको बताएको छ । पार्टी भवनका लागि प्राप्त भएको जग्गामा कुनै सौदाबाजी र लेनादेना नभएको भन्दै यसबारे आएका टीकाटिप्पणी खेदजनक भएको बताएको छ । ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्सनायोग्य भएको एमालेले दाबी गरेको छ ।

गुरुङका नाममा विचाराधीन रहेका मुद्दाहरूको बारेमा उनी आफैंले सामना गर्ने एमालेले जिकिर गरेको छ । लोकतान्त्रिक मुलुकहरूमा पनि आमरुपमा व्यवसायी व्यक्तित्वहरूबाट सहयोग गर्ने परम्परा र अभ्यास रहेको तर्क गर्दै जग्गा दानबारे आएका टीकाटिप्पणी सार्वजनिक खपतका लागि भएको एमालेको जिकिर छ ।

एमालेले विगतमा अस्तव्यस्त रहेको केन्द्रीय कार्यालयको स्थायित्वका लागि घरजग्गा खोज्नेक्रममा रहेको सन्दर्भमा गुरुङ दम्पतीले दान दिएको जनाएको छ । एमालेले पार्टी भवन निर्माणका लागि पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकबाट पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरूलाई सहयोगका लागि सिंगो बैठकबाट आहृवान गरेको थियो । तर, पार्टी कार्यालय बनाउन त्यो पैसाले नपुगेकोले सहयोग लिनुपरेको एमालेले जनाएको छ ।