बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

जनकपुरमा बढ्यो माटोका भाँडाको माग, पुर्ख्यौली पेशा विस्थापित हुने डर

काठमाडौं । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरु यतिबेला दीपावली तथा छठ पर्वको तयारीमा लागेका छन् । यि दुवै पर्वमा माटाका भाँडाकुँडाको माग अत्याधिक हुने गर्दछ । यो माग पूर्ति गर्नकै लागि जनकपुरका कुम्हाल समुदाय यतिबेला माटोका भाँडाकुँडा बनाउन व्यस्त छन् । तर पछिल्लो समय यो पेशाबाट मनग्य आम्दानी नहुँदा युवाहरु पेशाबाटै पलायन हुँदै गइरहेको गुनासो उनीहरुको छ ।

उमेरले ७० वर्ष पुगेका उपेन्द्र पण्डित माटाका सामानहरु बनाउन यतिबेला व्यस्त छन् । अनुभव र सीपले युवाहरु भन्दा पनि छिटो माटोका भाँडा बनाउछन् । उनलाई अहिले आउँदै गरेको लक्ष्मीपूजा र आस्थाको पर्व छठका लागि माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामाग्रीहरु बनाउने चटारो छ । यी पर्वहरुको समयमा माटाका सामानहरुको माग बढेपछि उनी बिहानैदेखि माटाका सामानहरु बनाउन व्यस्त छन् । जनकपुरधाम वडा नम्बर २४ बसहियाका स्थानीय पण्डितले माटोबाट निर्माण हुने विभिन्न कलात्मक सामग्रीहरु बनाउन थालेको लगभग ४० वर्ष भइसकेको छ । उपेन्द्र घरपरिवार चलाउन पुख्र्यौली पेशाका साथै अन्य कामहरु पनि गर्छन् ।

माटोको सामग्री कुनै विशेष पर्व वा सिजनमा मात्रै विक्री हुने गर्दछ । त्यसमध्ये दीपावली र छठ पनि हो । यही पेशाको भर पर्ने हो भने घर चलाउन हम्मेहम्मे पर्छ । त्यसैले घरपरिवार धान्न पुख्र्यौलीका साथै अन्य पेशा समेत अपनाउने गरेको कुम्हाल समुदाय बताउँछन् । उपेन्द्र जस्तै दैनिकी परीक्षण पण्डितको पनि छ । उनले माटाको भाँडाकुडाको व्यवसाय शुरु गरेको लगभग ३० वर्ष भइसकेको छ । उनले पहिलेभन्दा माटाको भाँडाकुँडाको व्यापार बढेको बताए । मागअनुसार त्यसको आपूर्ति गर्न नसकेको उनको भनाई छ ।

महँगी बढिरहेको छ । तर आजभन्दा ५ वर्ष पहिले ५० रुपैँया पाउने कलशको मूल्य अहिले पनि त्यस्तै छ । २ रुपैँयामै पछिल्लो ५ वर्षदेखि माटोको दियो बेच्न परिरहेको कुम्हाल समुदायको गुनासो छ । विष्णु पण्डित भने यी समस्याहरुलाई पन्छाउँदै आफ्नो पुख्र्यौली पेशालाई निरन्तरता दिने सोचमा छन् ।

माटो किन्नेदेखि लिएर दाउरासम्मको मूल्य तिरेर एक महिनासम्म मेहनत गरेपनि मनग्य आम्दानी हुन नसक्दा कुम्हाल पेशामा लाग्न युवाहरु रुचाउँदैनन् । यसले कुम्हाल पेशा नै संकटमा पर्ने उनीहरु गुनासो गर्दछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x