रवि र छवि दुबै जनालाई लगियो अदालत, म्याद थपको बहस हुँदै

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका दुवै जनालाई पुनः म्याद थपको लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेको कार्यकक्षमा बुधबार रविको बयान लिइएको थियो । बयानमा रविले पोखराको सहकारीबाट ऋण नलिएको र रवि लामिछाने भनी उल्लेख भएको नाम आफ्नो नभएको दाबी गरेका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रास्वपा सभापति लामिछानेलाई यही कात्तिक ३ गते शुक्रबार काठमाडौँबाट पक्राउ गरी त्यही रात पोखरा लगेको थियो ।
भोलिपल्ट शनिबार परेकाले लामिछानेलाई आइतबार कात्तिक ५ गते कास्की जिल्ला अदालतमा उपस्थित गराई पक्राउ परेकै दिनदेखि लागू हुने गरी प्रहरीले ६ दिन हिरासतमा राख्ने अनुमति लिएको थियो ।
पूर्वडीआईजी छविलाल जोशीलाई भने गत असोज ६ गते नै पक्राउ गरेर पोखरा लगिएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE