नेपाल भाषालाई ऐच्छिक भाषाको रुपमा समावेश गर्नेछौँः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत नेपालीहरुको आफ्नै संवत भएको बताएका छन् । शनिवार ११४५ औं नेपाल संवतको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् ।
उनले आफ्नो भूमिको, आफ्नो माटोको, आफ्नो जनताबाट, आफ्नै काम कारबाहीहरुबाट उब्जिएको संवत नेपाल संवत भएको बताए । उनले उपत्यकाको नेवार सभ्यता र संस्कृति दुनियाँका लागि असाधारण र अनुपम रहेको बताए । उनले नेपाली संस्कृति,परिकार, वाद्यवादनको कुरा गर्दा सबैभन्दा पहिला नेवारी संस्कृतिको उल्लेख हुने गरेको बताए । प्रधानमन्त्री ओलीले नेपाल भाषालाई ऐच्छिक भाषामा राख्ने निर्णय मन्त्रीपरिषद्बाट गर्नेगरी छलफल अघि बढाउने बताए ।
उनले भने, ‘नेपाल संवतको ११४५ औं वर्ष हो । यो हाम्रो आफ्नो संवत हो । आफ्नो भूमिको, आफ्नो माटोको, आफ्नो जनताबाट, आफ्नै काम कारबाहीहरुबाट उब्जिएको संवत हो । यो हाम्रो आफ्नै संवत हो । हाम्रो आफ्नै भाषा,आफ्नै सभ्यता, आफ्नै संस्कृति, नेपाल भाषा, खासगरी उपत्यकाको नेवार सभ्यता र यहाँको संस्कृति दुनियाँका लागि असाधारण र अनुपम छ । नेपाली संस्कृति भन्दा,नेपाली परिकार, वाद्यवादन भन्दा पहिला नेवारी संस्कृति र नेपाल भाषा आउँछ । नेवारी संस्कृति आउँछ । कक्षामा कुनकुन भाषालाई ऐच्छिक भाषामा राखिएको छ र नेवार वा नेपाल भाषालाई पनि ऐच्छिक भाषामा राख्ने भनेर मन्त्रीपरिषद्मा छलफल गर्नेछु र अरु भाषा ऐच्छिक भाषामा राखिएको छ भने नेपाल भाषालाई पनि ऐच्छिक भाषामा राख्दा कुनै नोक्शान हुँदैन । त्यसमा मेरो ध्यान गएको छ ।’
प्रधानमन्त्री ओलीले संस्कृति र सभ्यताको रक्षा गर्नुपर्ने बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE