बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

रवि लामिछानेलाई तेश्रो पटक म्याद थप गर्ने तयारी, समर्थकले प्रदर्शन गर्ने

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तेश्रो पटक म्याद थप गर्नका लागि आज कास्की जिल्ला अदालतमा लग्ने तयारी प्रहरीले गरेको छ । सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा कार्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर कास्की लगिएका लामिछानेको दोश्रो पटक थपिएको म्याद कार्तिक १४ गते नै सकिएको भए पनि १५ गतेदेखि सोमबारसम्म सरकारी बिदा परेकोले मंगलबार म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी जिल्ला प्रहरी कार्यालय कास्कीले गरेको हो ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार सीआईबीको अनुसन्धान टोलीलाई साथमै लिएर लामिछानेका आफन्तका कारोबार तथा विदेश रकम पठाएको तथ्यसमेत खोजी गर्ने काम भइरहेको छ ।

गोर्खा मिडिया ग्रुपकै अर्का सञ्चालक छविलाल जोशी पनि कास्की प्रहरीकै हिरासतमा छन् । जोशीको बयान लिइसकेको प्रहरीले लामिछानेसँग पनि पहिलो चरणको बयान सकेको छ । अनुसन्धानका क्रममा नयाँ तथ्य बाहिर आएकाले प्रहरीले रविसँग थप बयान अर्थात् ततिम्बा बयान लिने तयारी पनि गरेको छ ।

यसअघि एक साता हिरासतमा राख्ने अनुमति पाएकोमा त्यो म्याद तिहार बिदाकै बीचमा सकिएकाले प्रहरीले आज पुनः कास्की जिल्ला अदालतमा उनलाई उपस्थित गराउने छ ।

आवश्यक कागजात तयार पार्न, ततिम्बा बयानसमेत लिन प्रहरीले थप हिरासतमा राख्ने अनुमति माग्ने तयारी गरेको छ । गत असोजमा सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा गोर्खा मिडियाका अध्यक्ष जीबी राई निकट लिला पछाइलाई प्रहरीले पक्राउ गरेको थियो ।

यसैबीच रवि लामिछानेका समर्थकहरुले आज पोखरामा प्रदर्शन गर्ने भएका छन् । लामिछानेलाई तेश्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी गरिएसँगै उनका समर्थकहरुले पोखरामा प्रदर्शन गर्ने तयारी गरेका हुन् ।

लामिछानेलाई म्याद थपका निम्ति कास्की जिल्ला अदालतमा पेस गर्ने प्रहरीको तयारीकाबीच पार्टीका केही नेताहरू पोखरा पुगेका छन् ।

पार्टी उपसभापतिसमेत रहेका आन्दोलन परिचालन उपसमितका संयोजक डीपी अर्यालले पार्टी सभाखपति लामिछानेको रिहाइको लागि आफूहरुले प्रदर्शन गर्न लागेको जानकारी दिएका छन् ।

लामिछानेका निम्ति थपिएको म्याद कात्तिक १४ गते नै सकिएको छ । तर, कात्तिक १५ देखि तिहार बिदाका कारण अदालत नखुलेकाले प्रहरीले उनलाई मंगलबार पुनः म्याद थपका निम्ति अदालतमा पेस गर्दै छ । रास्वपाले भने म्याद थपका लागि लैजाने दिन पोखराकेन्द्रित आन्दोलन चर्काउने तयारी गरेको छ ।

छविले भने रवि र जीबीकै योजनामा गोर्खा मिडिया ग्रुपमा पैसा आएको बयान दिएका छन् । रविको बैंक खाता र त्यसमार्फत भएका सबै कारोबार संकलन गर्ने काम भइरहेको छ ।

उनले नेपालबाट केही रकम विदेश पठाएको हुन सक्ने आशंकामा त्यसतर्फ पनि प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । प्रहरीले सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ ।

रुपन्देहीमा पनि लामिछानेविरुद्ध पूरक जोहेरी आएको र पक्राउ पुर्जी पनि जारी भइसकेकाले बयानका लागि उनलाई त्यहाँ पनि लगिने छ । लामिछाने संलग्न गोर्खा मिडिया नेटवर्कमा पर्सा, चितवन तथा काठमाडौंका सहकारीबाटसमेत रकम गइ अपचलन भएको पाइएको संसदीय छानबिन विशेष समितिले निश्कर्ष निकालेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x