शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

श्रमजीवी पत्रकारका शसक्त आवाज जैसीको उम्मेदवारी, श्रमजीवीहरुकै हुनेछ नैतिक परीक्षा

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

काठमाडौं । देशभरका पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघमा यतिबेला चुनावी सरगर्मी छ । महासंघका अध्यक्ष हुँदै कार्यवाहक अध्यक्षसमेत दुईवटा नेतृत्व नै आफ्नो जिम्मेवारीबाट भागेपछि सर्वोच्च अदालतभित्र प्रवेश पाएर बल्ल हुन लागेको कारण पनि यो निर्वाचनलाई विशेष रुपमा हेरिएको छ ।

राजनीतिक हस्तक्षेपले थिलथिलो भएको महासंघ श्रमजीवी पत्रकारहरुको मुद्धामा भन्दा पनि राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग भइरहेकोमा यसपटक त्यस्तो सिण्डिकेट तोडिनु पर्छ भन्ने आवाज पनि देशव्यापी छ । यस्तो अवस्थामा समेत सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) निकटका नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले गठबन्धनको प्यानल अगाडि सारेका छन् । देशको संघीय र प्रदेश सरकार संयुक्त रुपमा सञ्चालन गरिरहेका यी दल निकटका संगठनले गठबन्धन गरेपछि प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर र नेकपा (एकिकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनले पनि गठबन्धन गरेका छन् । अझ रोचक त के छ भने विपक्षी गठबन्धनले नेपाली कांग्रेसबाट अध्यक्षमा बागी उम्मेदवार रहेका रमेश विष्टलाई समर्थन गरेका छन् ।

माओवादी निकटको प्रेस सेन्टरको तर्फबाट उम्मेदवार रहेका कमल गिरीलाई फिर्ता गराएर कांग्रेसका बिद्रोही विष्टलाई समर्थन गर्ने भएपछि पत्रकार महासंघको यो निर्वाचन थप रोचक बन्न पुगेको छ । महासंघको आसन्न निर्वाचनको पूर्वसन्ध्यामा गरिएको सत्तापक्ष र प्रतिपक्षको यो अभ्यासलाई अस्वस्थ राजनीतिक प्रतिस्पर्धाका रुपमा व्याख्या गर्दै तीब्र आलोचनासमेत भइरहेका बेला अर्को रोचक पक्षका रुपमा महासचिवको पदलाई लिइएको छ । सत्तापक्ष र विपक्षले सबै पदमा खिचातानी गरिरहेका बेला श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसी महासचिवको प्रतिस्पर्धामा आएपछि अन्य पदहरुको प्रतिस्पर्धा छायाँमा परेको चर्चासमेत चलेको छ ।

यसअघि राजनीतिक हस्तक्षेपकै कारण पटक–पटक स्थगित भएर बल्ल सम्पन्न हुन लागेको निर्वाचनमा पनि सोही अस्वस्थ प्रतिस्पर्धा दोहोरिएपछि स्वतन्त्र रुपमा खडा भएका जैसीले यसअघि श्रमजीवी पत्रकारहरुको अधिकारका पक्षमा गरेको संघर्ष र देशव्यापी रुपमा गरेको समीक्षा भ्रमणबाट पाएको सुझावका कारण पनि महासचिवमा जित्ने आधारसहित उम्मेदवारी दिएको बताइएको छ । पत्रकारिता क्षेत्रमा नरहेता पनि सामाजिक क्रियाकलापमा आफूलाई सक्रिय राख्ने गरेका बुढानिलण्ठ निवासी व्यवसायी नरनाथ केसीले महासंघमा नीति सहितको नेतृत्व आवश्यकता भइरहेका बेला जैसी जस्ता सशक्त अधिकारकर्मीको विकल्प नरहेको बताए ।

‘म पत्रकार होइन तर पत्रकारहरुका समस्या समाधानमा जन्मदेव जैसीले विगतदेखि गरिरहेको पहल र संघर्षलाई नजिकबाट देखेकोले महासंघमा उहाँले नेतृत्व गर्नुपर्छ भन्ने लाग्छ । उहाँ त राजनीतिरहित अध्यक्षको उम्मेदवार बनेर स्वतन्त्र प्यानलसहित आउनु पर्ने मान्छे हो ।’ केसीले भने – ‘यस पटक महासचिवमा जित्नु भयो भने पनि अर्को पटकको लागि आधार बन्छ । महासचिवमा जित्नु पर्ने निर्विरोध उम्मेदवार उहाँ नै हो भन्ने लाग्छ । उहाँको योगदानको सकारात्मक मुल्यांकन गर्ने श्रमजीवी पत्रकारहरुले महासचिवमा अरुलाई मत देलान् जस्तो लाग्दैन ।’

त्यसो त पत्रकारहरुको समस्यामा मात्र उभिँदैनन् जन्मदेव । उनी हरेक श्रमजीवीका समस्यालाई साझा रुपमा मुद्धा बनाएर अघि सार्छन् । एक कार्यकाल महासंघको सदस्य रहेका बेला महासंघ भनेकै जन्मदेव जैसी हुन् भन्ने बुझाइ आम मानिसमा परेको थियो । कुनै पनि सञ्चारगृहमा श्रमजीवी र सञ्चालकबीच समस्या पर्दा हुने उनको अर्थपूर्ण उपस्थितिले महासंघकै शीर उँचो बनाएको थियो । कार्यसमितिको सदस्यका रुपमा रहेर अर्थपूर्ण कार्य गरेका उनी महासंघको पदाधिकारीभित्र रहनु पर्ने माग सर्वत्र उठेको थियो । यद्यपी, निवर्तमान कार्यकालका लागि सचिवमा उम्मेदवारी दिएका उनी विजयी बन्न सकेनन् र सर्वाधिक मागका बावजुद् पनि उनलाई राजनीतिक घेराबन्दी गरेर हराइएको चर्चा त्यतिबेलै चलेको थियो ।

महासंघमा हराइएपछि पनि उनी चुप लागेर बस्न सकेनन् । बरु उनले अन्य क्षेत्रका श्रमजीवीहरुका पनि समस्या समाधानका गर्न संस्थागत रुपमा लाग्ने उद्धेश्य लिएर श्रमजीवी–पत्रकार संघ नेपाल नामक संस्था दर्ता गरे र श्रमजीवीहरुको समस्या समाधानका लागि पहल अगाडि बढाए । कतिपयले उनलाई महासंघविरुद्ध समानान्तर गतिविधि गरेको आरोप लगाए भने अस्पताल लगायतका कर्मचारीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउन गएका बेला जैसीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर हस्तक्षेप गरेको आरोप समेत लगाए । यद्यपी, उनको पहलमा श्रमजीवी र संस्था संचालकबीचको समस्या समाधानको चरणमा पुगेपछि महासंघका केही पदाधिकारी पनि पुगेर जस लिन गरेको रमिताले महासंघको गरिमालाई नगिज्याएको होइन । श्रमजीवीका समस्या समाधानलाई प्राथमिकतामा राखेका जैसीले संस्था वा प्रतिष्ठानका सञ्चालकको वाध्यतालाई पनि सम्बोधन गर्नुपर्ने सवाललाई पनि मुद्धा बनाए । उनले सञ्चार प्रतिष्ठानका सञ्चालकहरुलाई पनि क्षेत्र र श्रमजीवीको मर्म बुझेर बोक्न सक्ने भारी मात्र बोक्ने आँट गर्न सुझाव दिए । जसले गर्दा उनी श्रम क्षेत्रमा भेदभावरहित नेताका रुपमा स्थापित भए । उनै जैसीले यस पटक फेरि महासंघको महासचिव पदमा उम्मेदवारी दिएका छन् ।

यो आलेख तयार गर्दासम्मको अवस्थालाई हेर्ने हो भने महासचिवमा जैसीले प्रेस युनियन, चौतारीका साझा उम्मेदवार रामप्रसाद दाहालको सामना गर्नुपर्ने देखिएको छ । समिकरणलाई चुनौती दिँदै महासचिवमै उम्मेदवारी दिएका प्रकाश थापा र लेखनाथ न्यौपानेलेले आ–आफ्ना संगठनले फिर्ता हुन दिएको दबाब झेल्न सक्ने अवस्था नरहेका बेला उनीहरु फिर्ता भएमा महासचिवमा दुईजनाको प्रतिस्पर्धा हुने देखिएको हो ।

‘क्रियाशिल पत्रकारहरूको साझा मोर्चा’ नाम दिइएको यस प्यानलमा देवीप्रसाद सापकोटा अध्यक्षका उम्मेदवार रहेका छन् भने महासचिवमा जैसी तथा खुला सचिवमा कुमार ओझा, सचिव मधेशीमा प्रविणकुमार चौधरी, सचिव दलितमा सन्तोष बराइली, सचिव एशोसिएटमा योगेश खपाङ्गी, सचिव आदिवासी जनजातिमा टिकाराम प्रधान, केन्द्रीय सदस्य खुलामा फणिन्द्र फुयाँल, केन्द्रीय सदस्य उपत्यकामा मुक्तिनाथ आचार्य र केन्द्रीय सदस्य गण्डकी प्रदेशमा उज्जवल पौडेलको उम्मेदवारी छ ।

अन्य प्यानलका विभिन्न उम्मेदवार भएता पनि दलीय प्यानलका मतदाताहरुबाट जन्मदेवको पक्षमा ‘क्रसिङ मत’ प्रसस्त आउने सम्भावना रहेको बताइएको छ । हामीले केही ‘मतदाताका लिडर’हरुसँग गरेको कुराकानीमा उनीहरुले दलीय आस्था एकातिर राखेर महासंघको महासचिवमा जैसीलाई जिताउने प्रतिवद्धता व्यक्त गरे । राजनीति दलभित्र रहेर गर्नुपर्ने मत राखेका उनीहरुले महासंघलाई राजनीतिरहित संस्थाको रुपमा विकास गर्नु पर्ने बताए । मतदान गोप्य हुने हुँदा आफूहरुको नाम उल्लेख नगर्न उनीहरुले पटक–पटक सुझाव दिए । यस पटकको महासंघको निर्वाचन दलीय प्रतिस्पर्धा मात्रै नभएर श्रमजीवीहरुकै परीक्षाको घडी भएको पत्रकारबीच चर्चा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x