कथित झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । आफूलाई झाँक्री बताउँदै विभिन्न व्यक्तिहरुलाई ठगीसमेत गरेको आरोप लागेका कथित झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि कारागार चलान भएका छन् । सवारी ज्यानको मुद्धा लागेको भुजेललाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टको एकल इजलासले आइतबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
गएको कात्तिक २८ गते दिउँसो सवा १ बजेतिर काठमाडौंको शंखरापुर नगरपालिका–९ स्थित साँखु–थली सडकखण्डमा उनले चलाएको कारले ठक्कर दिँदा बा प्र ०२–०१८–प ६८७५ नम्बरको मोटरसाइकलमा सवार दम्पतीको ज्यान गएको थियो ।
दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२, आलापोटका ३८ वर्षका नारायण नगरकोटी र उनकी पत्नी ३२ वर्षकी सानुमाया नगरकोटी घाइते भएका थिए । उनीहरूलाई तत्काल शंखरापुरस्थित अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो । अस्पतालमा भोलिपल्ट दुवै जनाको मृत्यु भएको थियो । दुर्घटनापछि कार त्यहीँ छाडेर भागेका झाँक्रीपछि बौद्ध प्रहरी वृत्तमा उपस्थित भएका थिए । उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो ।
तर दुवै जनाको ज्यान गएपछि पीडित परिवारले आर्थिक सहायताको माग गर्दै शव समेत बुझ्न मानेका थिएनन् । झाँक्रीले मृतकका परिवारलाई आर्थिक सहायता दिएपछि शव पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको थियो ।
मृतक परिवारको तर्फबाट अनिल नगरकोटीले सवारी ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएका थिए । अनुसन्धान सुरु भएको २५ औँ दिनमा झाँक्री भुजेललाई थुनामा पठाउने आदेश भएको हो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE