विश्व हिन्दु महासंघमा अर्को भाँडभैलो, अध्यक्ष भण्डारीको अकर्मण्यताको बन्दी

काठमाडौं । विश्वका हिन्दुहरुको छाता संस्था भनिएको विश्व हिन्दु महासंघ एकजना व्यक्तिको गलत मनोकांक्षा र अकर्मण्यताको बन्दी बनेको छ । पहिलेदेखि नै विवादित रहँदै आएकी हालकी कार्यवाहक अध्यक्ष टिकादेवी उर्फ अस्मिता भण्डारीको प्रयोगशाला बनेसँगै महासंघको गर्विलो ओजमा धक्का लागेको हो ।
भण्डारी महासंघको १० औं महासम्मेलनबाट पूर्ण रुपमा गराउन असफल भएसँगै उनी आफैं कार्यवाहक अध्यक्ष घोषित भएकी थिइन् । महासंघको संस्थागत सम्पत्ति हिनामिना लगायतका अनियमित क्रियाकलापहरु गरेको आरोप खेपिरहेकी उनको नेतृत्वमा भएको १० महासम्मेलन असफल भएसँगै काम चलाउन कार्यसमितिको कार्यवाहक नेतृत्व गरेको उनको कार्यसमिति विरुद्ध अदालतमा मुद्धासमेत दायर भएको थियो ।
उनी कार्यवाहक रहेको समितिलाई मान्यता नदिन माग गर्दै दायर भएको रिट निवेदनमा उच्च अदालत पाटनले अघिल्लो वर्षको मंसिर ६ गते यथासक्य छिटो निर्वाचन गराई संस्थाको निरन्तरता एवम् जीवन्तता प्रदान गर्नु पर्ने देखिएको ठहर गरेको थियो । नयाँ कार्यकारिणीको चयन समेत गर्ने गराउने दायित्व रहेकोतर्फ अदालतले सचेत गराउँदै पटक–पटक निर्देशन दिएको थियो ।
महासंघको विधान बमोजिम संस्था सञ्चालन गर्न गराउन, यथासिघ्र निर्वाचन गराउन कानुनी प्रक्रिया एवम् कार्यविधिको थालनी गर्न तथा गराउनसमेत अदालतले आदेश दिएको थियो । अदालतको आदेशलाई अटेर गर्दै महासंघको नेतृत्वमा रहेकी भण्डारीले यसपटक भने बिहीबार जनकपुरधाममा ११ औं महासम्मेलन भन्दै कार्यक्रम गर्ने घोषणा गरेकी थिइन् । यद्यपी, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनको घोषणा बमोजिमको ११ औं महासम्मेलनलाई अस्वीकार गरेको मात्र छैन, जनकपुरधाममा गर्न लागिएको भनिएको कार्यक्रमलाई नै रोकि दिएको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि पूर्ण हुन नसकेको १० औं महासम्मेलन नै गर्नुपर्ने र त्यो कार्यक्रम काठमाडौं जिल्लामा नै सम्पन्न गराई सोको जानकारी दिन भनेको हो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंकी प्रशासकीय अधिकृत सुजन कुमारी वर्देवाले लेखेको कार्यादेशमा १० औं महासम्मेलन काठमाडौंमै यथाशक्य गरी जानकारी गराउन भनिएको छ । जिल्ला प्रशासन कार्यालयले कार्यवाहक भण्डारीलाई महासंघको विधान तथा उच्च अदालतको आदेशको पालना बमोजिममात्र क्रियाकलाप गर्न सुझाएको हो ।
यसबारेमा बागमती टेलिभिजन डटकमले कार्यवाहक भण्डारीसँग प्रतिक्रिया माग्दा उनले जिल्ला प्रशासन कार्यालयले जारी गरेको पत्रका बारेमा आफूलाई थाहा नभएको बताइन् । आफूले कार्यक्रमको तयारी गरिरहेकोले सोही तयारी बमोजिम कार्यक्रम गर्ने दाबी भण्डारीले गरिन् । जनकपुरधाममा बिहीबारका लागि तय भएको कार्यक्रम नरोकिनेतर्फ संकेत गर्दै उनले आफू अत्यन्त व्यस्त भएको बताइ फोन काटिन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE