काठमाडौं । तराई–मधेशमा अहिले हुस्सु र कुहिरो लागेको छ। पूर्वी तराईदेखि पश्चिम तराईसम्मका अधिकांश भूभागका बाक्लो हुस्सु र कुहिरो लागिरहेको जल तथामौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहान लागेको हस्सु दिउँसो केही मात्रामा घट्ने महाशाखाले बताएको छ। मौसम शुक्रबार थप सुधार हुने शनिवारदेखि भने पुनः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावले गण्डकीको पहाडी क्षेत्र, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद गोविन्द झाले जानकारी दिनुभयो ।
आज र भोलि पहाडी तथा हिमाली भेगको मौसम सफा रहने र पर्सि बेलुकीदेखि मौसम बदली हुने उहाँको भनाइ छ । तराईका धेरै ठाउँमा आज पनि हिजोजस्तै बाक्लो हुस्सु र कुहिरो लागेको छ । पूर्वी तराईमा दिउँसोपख हुस्सु हटे पनि मध्य र पश्चिम तराईमा भने दिनभरजसो नै हुस्सु लाग्ने गरेको छ । यसको प्रभाव भोलि र पर्सि बिहानसम्मै रहने मौसमविदले बताएका छन् । त्यसपछि पश्चिमी वायुका कारण हुस्सु र कुहिरोको प्रभाव विस्तारै कम हुँदै जाने मौसमविद झाले जानकारी दिनुभयो ।
पछिल्लो केही दिनयता बढेको काठमाडौं उपत्यकाको न्यूनतम बिहीबार घटेको छ। बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियस मापन भएको छ।