आजपाले भ्रष्टाचार विरुद्ध वीरगंजमा खबरदारी सभा गर्दै

वीरगंज । आम जनता पार्टी (आजपा) ले वीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गराउन र भ्रष्टाचार विरुद्ध भोली खबरदारी सभा गर्ने भएको छ । हालै भ्रष्टाचार विरुद्ध मधेसमा जागरण अभियान गरेको आजपाले शनिबार वीरगंजमा भ्रष्टाचार विरुद्ध खबरदारी सभा गर्न लागेको हो । साथै वीरगंजलाई मुलुकको आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग समेत आजपाले गरेको छ ।
आजपा मधेस प्रदेश कमिटीका प्रवक्ता डा. हेमप्रसाद साहले वीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गराउन र भ्रष्टाचार विरुद्ध जागरण गर्ने उदेश्यले पुस २७ गते वीरगंजमा हुने खबरदारी सभालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहका साथै शिर्ष नेताहरूले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताए ।
आजपाले भ्रष्टाचार, सरकारको मनोमानी कर आतंक, बैदेशिक रोजगारमा भईरहेको ठगी, भन्सार कानूनमा रहेको लुटकारी व्यवस्था, एवं दलाल दलतन्त्र विरुद्ध आवाज उठाउदै आएको छ ।
आजपा अध्यक्ष प्रभु साहले मुलुकमा बढदै गईरहेको भ्रष्टाचार विरुद्ध खबरदारी गर्ने उदेश्यले बिरगंजमा भ्रष्टाचारको बिरुद्धमा खबरदारी सभा गर्न लागेको बताएका छन् । सरकारका मान्छेहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप उनले लगाए । भ्रष्टाचार नियन्त्रण गर्नेहरूकै मिलेमतोमा खुलमखुल्ला भ्रष्टाचार भैइरहेको अध्यक्ष साहले आरोप लगाए ।
वीरगंजलाई आर्थिक राजधानीका साथै भ्रष्टाचार विरुद्ध हुने खबरदारी सभाका कारण शासकबर्ग त्रसित भएको उनले जनाएका छन् । केन्द्रीय देखी प्रदेश सरकारमा रहेकाहरु राज्यको ढुकुटी लुटिरहेको बताउँदै उनले आजपा जनतामा सचेतना जगाउने उदेश्यले सडकमा आएको बताए ।
‘मुलुकमा भ्रष्टाचार बढदै गईरहेको छ तर सरकार मुकर्दशक बनेको छ । सरकारकै संरक्षणमा भ्रष्टाचार बढदै गईरहेको छ । हरेक काण्डमा सरकारका मान्छेहरु संलग्न रहेका छन् । मुलुक लुटिरहेको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी निकायहरुकै संलग्नतामा हरेक क्षेत्रमा भ्रष्टाचार बढदै गईरहेको छ । भ्रष्टाचार विरुद्ध आवाज उठाउँने उदेश्यले हामीले खबरदारी सभा गर्न लागेका छौं ।’
संघिय संरचना आउँनुभन्दा अघि वीरगंजलाई राजधानी बनाउँने भनिए पनि बिरगंजसंग धोका भएको उनले बताए । प्रदेशको राजधानी वीरगंजलाई बनाउँन भनिए पनि षडयन्त्र गरिएको बताउदै उनले वीरगंजलाई आर्थिक राजधानी घोषणा गर्नमा पनि षडयन्त्र भईरहेको आरोप लगाए ।
‘काठमाडौं प्रशासनिक राजधानी हुने, पोखरा पर्यटकीय राजधानी हुने तर वीरगंज आर्थिक राजधानी किन नहुने ? हामीले वीरगंजलाई जसरी पनि आर्थिक राजधानी घोषणा गराएरै छाड्ने छौं,’ उनले भने, ‘यदी वीरगंजलाई आर्थिक राजधानी घोषणा गरिएन भने हामी चुप लागेर बस्दैनौं । अहिले खबरदारी सभा गरिरहेका छौं, सरकारले हाम्रो माग सम्बोधनमा ढिलाई गरे यो भन्दा कडा आन्दोलन गर्न हामी बाध्य हुन्छौं ।’
साथै उनले सरकारले हरेक वस्तु र क्षेत्रमा मनोमानी कर लगाएर मुलुकलाई धरासायी बनाउदै गरिरहेको आरोप लगाए । भ्रष्टाचार विरुद्ध जागरण गर्ने, सरकारको मनोमानी कर आतंकको अन्त्य र वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउँन दबाब दिने उदेश्यले वीरगंजमा खबरदारी सभा गर्न लागेको आजपाले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE