बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रतिलिपि अधिकारको ख्याल नगरेपछि प्रदिप खड्का अभिनित ‘एक्टर टेक वान’को प्रदर्शन रोकियो

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । अभिनेता प्रदिप खड्का अभिनित चलचित्र ‘एक्टर टेक वान’को प्रदर्शन रोकिएको छ । हाल प्रदर्शनरत चलचित्र ‘एक्टर’सँग नाम र विषयवस्तु समेत मिल्दो जुल्दो भएको र यसरी नाम र विषय एउटै बनाएर प्रदर्शन गर्दा दर्शकहरुमा भ्रम पर्न जाने तथा व्यवसायिक रुपमा समेत असर पर्ने दाबीसहित प्रतिलिपि अधिकार बमोजिम कारबाही गरी उचित क्षतिपूर्ति दिलाइ पाउनका लागि काठमाडौं जिल्ला अदालतमा रिट परेपछि अदालतले अल्पकालिन आदेशद्वारा चलचित्रको प्रदर्शन रोकि दिएको हो ।

मदन घिमिरेको निर्देशन तथा मनोहरी थापाको निर्माणमा बनेको ‘एक्टर’ अन्तिम चरणमा रहेको बेला अर्को समूहले पनि ‘एक्टर’कै निर्माणको घोषणा गरेको थियो । पहिलो पक्षले चलचित्र विकास बोर्डमा एउटै नामका दुई चलचित्र कसरी दर्ता भए भनेर प्रश्न उठाएपछि दोश्रो चलचित्रमा ‘टेक वान’ थपिएको थियो । पहिलो चलचित्र निर्माण गरेको समूहले नाम जुधाउने समूहलाई नाम परिवर्तन गर्न पटक–पटक आग्रह गरे पनि उनीहरुले त्यसलाई अस्वीकार गरेर अगाडि बढेका थिए ।

पहिलो पक्षले माघ ४ गतेदेखि आफ्नो चलचित्रको प्रदर्शन गर्ने तयारी गरेपछि नाम जुधाएको समूहले पनि माघ १६ गतेदेखि प्रदर्शन गर्ने घोषणा गरेको थियो । चलचित्र विकास बोर्डलेसमेत पहिलो पक्षको कुरालाई नजरअन्दाज गरी नाम र विषयवस्तु जुधाएको समूहको चलचित्र प्रदर्शन गर्न अनुमति दिएपछि आधिकारिक पक्षले अदालत गुहारेको हो । आधिकारिक पक्षले दायर गरेको रिट उपर अधिवक्ताहरु दिपक अधिकारी, यज्ञमणि न्यौपाने, कमलप्रसाद पोखरेल, पार्वती थापा, अर्जुन थापा, अस्मी थापा, विरेन्द्र केसी र टिकाप्रसाद ढकालले वहस गरेका थिए भने मुद्धामा विपक्षी बनाइएको चलचित्र विकास बोर्डको तर्फबाट अधिवक्ता चित्रबहादुर कुताल विष्टले बहस गरेका थिए ।

दुवै पक्षको वहस सुनेपछि जिल्ला न्यायाधीश ढाकाराम पौडेलको इजलासले दुवै पक्षलाई माघ २२ गते छलफलको लागि पुनः बोलाउने र सो समयसम्मको लागि नाम जुधाएको चलचित्र प्रदर्शन रोक्न अल्पकालिन आदेश जारी गरेको छ ।

पहिले आधिकारिक रुपमा निर्माण गरिएको चलचित्रको कार्यकारी निर्मातामा विष्णु शिवाकोटी, सफलता थापा र निशा केसी भण्डारी रहेका छन् भने सह निर्मातामा चाँद लामा र भैरव खकुरेल रहेका छन् । सम्राट थापाको कथा तथा संगीत रहेको यस चलचित्रमा सरोज खनाल, कृष्ण मल्ल, प्रिन्स थापा, शिवानी गिरी, कशिष दाहाल, शिवी शाह तथा महेन्द्र मैनाली लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।

त्यसैगरी नाम र विषयवस्तु कपि गरि बनाइएको चलचित्रमा थम्मन के भण्डारी निर्माता र राजन भुषाल निर्देशक रहेका छन् । प्रदिप खड्काको साथमा राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी, दिव्य देव, शुसिल सिटौला, उषा रजक र श्रीजना अधिकारी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x