काठमाडौं । सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालको अध्यक्षमा सुर्यबहादुर मगर निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार काठमाडौमा सम्पन्न आठौं तथा नवौं साधारणसभाबाट मगर दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्ष मगरमात्र नभइ सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक रहेका अधिवक्ता रामचन्द्र श्रेष्ठले जानकारी दिए । श्रेयठले दिएको जानकारी अनुसार उपाध्यक्षमा तोरण गुरुङ (शशि), महासचिवमा धनु ज्ञाङ्मी, सचिवमा इश्वर बहादुर गुरुङ, कोषाध्यक्षमा रुकमान लिम्बु र सदस्यहरुमा जनक तामाङ, सक्षम श्रेष्ठ, खुसी थुलुङ राई र रुपेन्द्र खड्गी निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाल प्रतिलिपी अधिकार रजिस्ट्रार कार्यालयकी रजिस्ट्रार सबिता कार्कीको प्रमुख आतिथ्यतामा आयोजित साधारणसभामा संस्थाका महासचिव सुनिल लामिछानेले वार्षिक तथा साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए भने कोषाध्यक्ष रुकमान लिम्बुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वौद्दिक सम्पत्ती अन्तर्गत गीत सङ्गीत विधामा पनि अन्य विधामा जस्तै रोयल्टी सङ्कलन र वितरण गर्ने विश्वव्यापी व्यवस्थालाइ स्वीकार गर्दै नेपाल प्रतिलिपी अधिकार ऐन २०५९ र नियमावली २०६१मा भएको व्यवस्था बमोजिम सङ्गीत व्यवसायीहरुको सम्लग्नतामा स्थापना भएको सङ्गीत तथा चलचित्र उत्पादक समाज २०७२ सालदेखी सकृय रहेको छ ।