आज काठमाडौंका यी ठाउँमा ७ घण्टासम्म बिजुली काटिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानहरुमा आज बिजुली काटिने भएको छ । प्राधिकरणले वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानहरुमा बिजुली काटिने जनाएको हो ।
प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार वसुन्धरा, गोङ्गबु टाउन प्लानिङ, सामाखुसी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बिजुली प्रवाह रोकिनेछ ।
विद्युत् प्रवाह रोकिँदा पर्ने अुसविधाप्रति प्राधिकरणले ग्राहकवर्गमा क्षमायाचना गरेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न गर्न प्राधिकरण क्रियाशिलसमेत रहने सूचनामा उल्लेख छ ।
त्यसैगरी महाराजगञ्ज वितरण केन्द्रकै हस्पिटल फिडरअन्तर्गत पर्ने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तालिम केन्द्र, निर्मल निवासलगायतका स्थानमा उच्च क्षमताको प्रसारण लाइन र पोल स्थानान्तरण गर्ने कार्यका लागि बिहान १० बजेदेखि साँझ पाँचबजेसम्म बिजुली प्रवाह अवरुद्ध हुने सूचनामा उल्लेख छ ।
त्यसैगरि भोजपुर वितरण केन्द्र र सुर्खेत वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न स्थानमा पनि मर्मत एवं रुख बिरुवाका हाँगा काट्ने प्रयोजनाका लागि आज बिजुली प्रवाह रोकिने प्राधिकरणले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE