काँग्रेस सत्तापक्ष हो तर सरकारमा छैनः शेखर कोईराला

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले काँग्रेस अहिले सरकारमा नरहेको बताएका छन् । मंगलवार काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुले राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले काँग्रेस सत्ता पक्षमा रहेको तर सरकार बाहिर रहेको जिकिर गरे । उनले सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता रहेको बताए । बिस्तारै बिस्तारै थाहा नपाउने गरी सरकार एमालेकरण हुन लागेको उनको आरोप छ । सांसद कोईरालाले सरकारमा नरहेको बताएपनि अहिले नेपाली काँग्रेस र नेकपा एमालेको सरकार संघदेखि प्रदेश तहसम्म नै रहेको छ ।
संयन्त्रले सरकार चलाउने कुरा कम्युनिष्टहरु र साम्यवादी देशहरुमा मात्रै हुनसक्ने भन्दै लोकतन्त्रमा त्यस्तो नहुने जिकिर गरे । उनले अहिले केन्द्रदेखि गाउँपालिकासम्म संयन्त्रबाट शासन गर्ने र अब बिस्तारै वडामा पनि संयन्त्र बनाएर शासन गर्ने दुष्प्रयत्न भइरहेको बताए ।
सांसद कोईरालाले सामाजिक सञ्जाल सम्बन्धी विधेयक मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति आघात पुग्नेगरी ल्याइएको बताए । नियमन गर्ने नाउँमा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नपाइने बताए । कुनैपनि हालतमा सरकारले संसदमा पेश गरेको सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता गरेर सम्बन्धित सरोकारवालहरुसँग छलफलपछि मात्रै पुनः ल्याउनुपर्ने बताए ।
सांसद कोईरालाले भन, ‘सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक छ । यो विधेयक भर्खर संसदमा गएको छ । छलफल हुनतः बाँकी नै छ । तर जसरी यो विधेयक आएको छ । र जस्ताको त्यस्तै पास भयो भने मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति नै आघात पुग्छ । नियमन गर्ने नाउँमा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न पाइँदैन । कुनैपनि हालतले यो विधेयक फिर्ता गरिकन स्टेक होल्डरहरुसँग छलफल गरी यो विधेयक ल्याउन जरुरी छ । यो सरकार बनाउने बेलामा हामी सबै लागेका थियौँ । देशमा सशुासन छैन, सुशासन दिन सकिन्छ, संविधान संशोधन गर्न सकिन्छ भनेर दुई ठूला दल मिलेर सरकार बनाऔँ भनेर लागेका थियौँ । राजनीतिक स्थायित्व दिन सकिन्छ, देशलाई समृद्ध बनाउन सकिन्छ भनेर पहल गरेको हो । तर जसरी यो सरकार चल्दैछ, अघि बढ्दैछ, संसदलाई छलेर अध्यादेश ल्याउने जमर्को गरिरहेको छ, यसले लोकतन्त्रलाई अफ्ठ्यारोमा पारिरहेको छ । अध्यादेश राम्रो छ की छैन, कस्तो छ भन्नेकुरा पछिको कुरा हो । संसद बोलाउनु ६ दिन पहिला अध्यादेश ल्याइन्छ । के कारणले ल्याएको, किन अर्जेन्सी परेको हो भन्नेकुरामा सरकारले जवाफ दिनुपर्छ । हामीले यो सरकारलाई सुशासन दिन्छ भनेर ल्याएको हो । तर कस्तो सुशासन भने घुस दिनेलाई समात्ने, घुस लिने छोडिदिने रहेछ । महान्यायाधिवक्ताको क्रियाकलाप हेर्नुभयो भने उहाँलाई जुन अधिकार दिएको छ राज्यले त्यो अधिकारको दुरुपयोग भइरहेको छ । कता कता मलाई चिन्ता लागेको छ । हामी सरकार बाहिर छौँ, सत्ता पक्षमा छौँ तर सरकारमा छैनौँ हामी । हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ । हामी प्रतिष्पर्धी पनि हौँ । भोलिको राजनीतिमा एमालेको प्रतिष्पर्धी नेपाली काँग्रेस हो । हामीले जे कुरामा चित्त बुझ्दैन, त्यसमा खबरदारी गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । मलाई छ डर लागिरहेको छ, चिन्ता लागिरहेको छ । यो सरकार एमालेकरण त भइरहेको छैन भन्ने चिन्ता लागेको छ । संयन्त्रले सरकार चलाउने कम्युनिष्टहरुमा मात्रै हुनसक्छ । साम्यवादी देशहरुमा मात्रै संयन्त्रले देश चलाउँछ । यहाँ यही प्रक्रिया केन्द्रदेखि गाउँपालिकासम्म बनाइसकिएको छ । अब वडामा बाँकी छ । वडामा पनि संयन्त्र बनाउने दुष्प्रयास गर्न खोजिरहनुभएको छ । लोकतन्त्रमा संयन्त्रले देश चलाउने होइन । कता कता न थाहा पाउने गरी एमालेकरण भइरहेको छ ।’
सांसद कोईरालाले देशमा सुशासन, राजनीतिक स्थायित्व दिनका लागि वर्तमान सरकार बनाएपनि सरकारका काम कारबाही घुस दिनेलाई समात्ने र घुस लिनेलाई उन्मुक्ति दिने किसिमको देखिएको आरोप लगाए । उनले सरकारका महान्यायाधिवक्ता रमेश बडालले राज्यले दिएको अधिकारको दुरुपयोग गर्नुभएको आरोप लगाए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE