फागुन १० गतेदेखि १७ गतेसम्म स्वयम्भू महोत्सव हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १५ को आयोजनामा स्वयम्भू महोत्सव हुने भएको छ । स्थानीय पहिचान र सम्भावना प्रवर्द्धनका लागि उक्त महोत्सवको आयोजना हुन लागेको जानकारी गराइएको हो ।
महोत्सवको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा वडाध्यक्ष इश्वरमान डङ्गोलले यस महोत्सवबाट आझेलमा परेका प्राचीन स्मारक पर्यटकीयस्थलका रुपमा प्रवर्द्धन हुने जानकारी दिए । वडाको प्राकृतिक सुन्दरता, मानव निर्मित धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना, रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बा, सत्तल, विहारसहितका प्राचीन स्मारक प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनको भनाइ रहेको छ ।
महोत्सवमा वडाबाट उद्यमशीलता र जीविकोपार्जनका लागि तालिम लिएका व्यक्ति तथा सङ्घसंस्थाले उत्पादन गरेका वस्तु तथा सामान, स्थानीय उत्पादन, तरकारी तथा फलफुल, ऊन तथा अन्य धागोबाट बनेका पहिरन प्रदर्शनीमा राखिनेछ ।
स्वयम्भूको भुईंखेल चौरमा महोत्सव हुनेछ । भगवान् पाउको धर्मचक्र पार्कमा प्रदर्शनी र वडास्तरीय विपद् व्यवस्थापन, खोज उद्धार तथा पुनःस्थापना प्रदर्शनी हुनेछ । महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गरिनेछ ।
परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसंग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, बुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा प्रदर्शनमा राखिने वडाध्यक्ष डङ्गोलले जानकारी दिए ।
मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदान, रञ्जना लिपि लेखन, मुहार चित्रकारितासहित सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेल महोत्सवका थप आकर्षण हुने छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE