राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन – २०८१ हुने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन २६ र २७ काठमाडौंमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ गर्ने भएको छ । उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार भन्ने नारासहित सम्मेलन गर्न लागेको काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले यस्तो जानकारी दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने दुई दिने सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा विभिन्न विषयमा प्यानल छलफलसमेत हुने मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा मन्त्री शरतसिंह भण्डारीले उद्यमशिलता र रोजगारलाई एक आपसमा जोड्ने र आन्तरिक रोजगार प्रवद्र्धन गर्ने मुख्य उदेश्य रहेको बताए । तीनै तहका सरकार एवं निजी क्षेत्रसहितको संलग्नतामा श्रम क्षेत्रका सबै विषय वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप तथा पुँजीको माध्यमबाट उत्पादनशील क्षेत्रलाई सहयोग पुग्ने हिसाबले सम्मेलन हुन लागेको मन्त्री भण्डारीको भनाइ रहेको छ ।
रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड यूनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा सबैको सहभागिता सम्मेलनमा रहने मन्त्रालयका सचिव डा. कृष्णहरि पुस्करले जानकारी दिए ।
सम्मेलनमार्फत उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिइने मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए । उनले साझेदारको सहयोगमा सम्मेलनको खर्च व्यवस्थापन हुने पनि बताए ।
पछिल्लो समय श्रमिकको माग न्यून हुँदै जानु, वस्तु र सेवाको उत्पादनमा लागत बढ्नु लगायतका विषयले चिन्ता थपेको भन्दै श्रमिकको मागलाई बढाउन अर्थतन्त्रको व्यापक सुधार आवश्यक रहेको मन्त्रालयको भनाइ छ ।
उक्त सम्मेलनमा वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोष, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल बैकंर्स संघ, होटल एसोसिएसन नेपाल, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल ट्रेकिङ एजेन्सी एशोसिएसन, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स, निर्माण व्यवसायी संघ, नेपाल उद्योग परिसंघ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन), निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन), आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन, विश्व बैंक, स्वीस विकास सहयोग–हेल्भेटास, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, गैर आवासीय नेपाली संघ र खाद्य तथा कृषि संगठन सहयोगी संस्थाका रुपमा रहेका छन् ।
रकारले यसअघि २०५४, २०६१, २०६९ र २०७६ सालमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गरेको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE