३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीका सम्बन्धमा जथाभावी नबोल्न विपक्षीलाई ओलीको चेतावनी

0
Shares


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका सम्बन्धमा जथाभावी नबोल्न प्रतिपक्ष दलका नेताहरुलाई चेतावनी दिएका छन् । बुधवार काठमाडौंमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रतपिक्ष दलहरुलाई यति सस्तो, हलुका र उत्ताउलो नबन्न आग्रह गरे । उनले प्रतिपक्ष दलहरुको सबै पृष्ठभूमिबारे जानकार रहेको भन्दै के गर्न हिँड्नुभएको थियो, कता हिँड्नुभएको थियो, कहाँ आइपुग्नुभयो भन्नेकुरा देखिएको टिप्पणी गरे । कोही चिहानबाट नली खुट्टाका हाड निकालेर फेरि लगाउँदै हिँड्ने गरेको र कोही आफ्ना असफलताका कुण्ठाहरु छर्ने थलो संसदलाई बनाइरहेको भन्द टिप्पणी गरे । यस्ता किसिमका क्रियाकलापहरु नगर्दा राम्रो हुने बताए ।

उनले भने, ‘म आग्रह गर्न चाहन्छु प्रतिपक्षलाई यति सस्तो, यति हलुका, यति उत्ताउलो नहुनुस् तपाईंहरु । र प्रधानमन्त्रीको सम्बन्धमा जथाभावी पनि नबोल्नुस् । थाहा छ तपाईंहरुको पृष्ठभूमि । के गर्न हिँड्नुभएको थियो, कता हिँड्नुभएको थियो, कहाँ आइपुग्नुभयो । त्यो पनि देखिएको छ । कोही चिहानबाट नली खुट्टाका हाड निकालेर फेरि लगाउँदै हिँड्नुभएको छ । आफ्ना असफलताका कुण्ठाहरु छर्ने थलो बनाउनुहुन्छ, संसदलाई । त्यो हामीले बुझेका छौँ । यस्ता खालका क्रियाकलाप नगर्दा हुन्छ । केके न ठूलो अपराध गरेको जस्तो । मैले यस्तो कुरा थाहा पाएँ, सुनेँ, यो कुरा गलत होस्, असत्य होस् । मैले सुनेको असत्य होस् । वाह, कुनै महान ठूलो कुरा गरेको जस्तो । कसैले केके न ठूलो भ्रष्टाचार गरेको जस्तो । यो असत्य होस् । होइन रहेछ भने, नत्र । म भन्दिन चाहन्छु, चिसै पानीले नुहाउनुस् ।’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले लेखेको स्टाटसप्रति लक्षित गर्दै ठूलै भ्रष्टाचार गरेको जस्तो गरी एक जना कर्मचारी निकाल्दा ‘मैले सुनेको असत्य होस्’ भन्ने जस्ता शब्दहरु लेखेको देख्दा आश्चर्य लागेको बताए ।