बुधबारदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नेछन् । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै उक्त विधेयक प्रस्तुत गर्नेछन् ।
यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्ततु गर्ने कार्यसूची रहेको छ । यसअघि बुधबार कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरुले अवरोध गरेको बैठक विहिबार र शुक्रबार बस्दै नबसी स्थगित भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले उठाएको विषयमा भोलि बस्ने बैठकमा जानकारी गराउने सुचना संसद सचिवालयलाई गराएको हुनाले आजको बैठक संचालन हुनसक्ने देखिएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE