तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ, न्यायिक आयोगबारे विचार गर्छौंः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानविन हुने बताएका छन् । शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् ।
तीनकुने घटनाको न्यायिक छानविन हुनुपर्छ भन्ने माग उठिरहेको उल्लेख छ नि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले न्यायिक छानविन हुनुपनि सक्ने र नहुन पनि सक्ने बताए । तीनकुने घटनाको लागि न्यायिक छानविन गठन गर्ने की नगर्ने भन्नेबारेमा विचार गर्ने बताए
।
प्रधानमन्त्री ओलीले भने, ‘न्यायिक छानविन हुँदैछ । न्यायिक छानविन नभनौँ । न्यायिक छानविन नहुन पनि सक्छ, हुन पनि सक्छ । तर छानविन निष्पक्ष हुन्छ । सबै कुरामा न्यायिक छानविन नै चाहिन्छ भन्ने पनि छैन । त्यो हामी विचार गर्नेछौँ । यसै निष्पक्ष छानविन गर्ने की न्यायिक छानविन गर्ने भनेर ।’
उनले सबै कुरामा न्यायिक छानविन जरुरी नरहेको बताए ।
सरकारले शिक्षकहरुका माग सम्बोधन गर्छ,उहाँहरु छिटै फर्किनुहुनेछ
त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले शिक्षकहरुका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् ।
उनले शिक्षकहरु अहिलेको सरकासँग विश्वास गरेर र यो सरकारले आफ्ना आवाज सुन्छ भनेर प्रदर्शनमा आएको भन्दै धन्यवाद दिए । उनले पहिलाको सरकारमा आन्दोलन नगर्नुको कारण सरकारले जति आन्दोलन गरे पनि नसुन्ने र अहिलेको सरकारले आफूहरुका माग पूरा गर्ने ठानेर प्रदर्शनमा आएको जिकिर गरे । उनले सरकार शिक्षकबिरोधी नभएको र शिक्षकहरु पनि सरकार बिरोधी नभएको उल्लेख गर्दै मागहरु परस्परमा बसेर छलफलबाट टुंग्याइने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘शिक्षकहरुलाई म धन्यवाद भन्न चाहन्छु । किनभने सरकारमाथि विश्वास गरेर उहाँहरु यो प्रदर्शनमा आउनुभएको छ । नत्र पहिला प्रदर्शन गर्नुहुन्न थियो नि यसरी । किनभने प्रदर्शन गर्यो गर्यो कानमा बतास लाग्दैन भने किन प्रदर्शन गर्ने भन्ने हुन्थ्यो । अहिले आवाज उठाएपछि सरकारले सुन्छ भन्ने विश्वास छ । त्यसकारण आउनुभएको हो । हामी कुराकानी पनि गर्छौं । हामी उहाँहरुका कुरा सुन्छौँ पनि । न उहाँहरु सरकारबिरोधी हो, न सरकार उहाँहरु बिरोधी हो ? यो सबै हामी एउटै हौँ । के कस्तो गर्न सकिन्छ, के गर्नुपर्छ भन्नेकुरा परस्परमा बसेर सल्ला गरेर टुंगिने हो । धेरै यसमा उहाँहरले पनि दुःख नपाए हुन्छ । सरकारले कुनै नकारात्मक दृष्टिकोण राख्दै राख्दैन । उहाँहरु यहाँ आइहाल्नुभएको छ, ठिक छ, आइरहनुपर्ने पनि थिएन । सानै डेलिगेसन आएर भन्दा पनि हुन्थ्यो । तर पनि उहाँहरुले सरकारले सुनेन कि भनेर पहिला पहिला जस्तै ठान्नुभयो होला । र अहिले ठूलै जमात जानुपर्छ भनेर नै आउनु भयो होला । यो विश्वासको लागि धन्यवाद भन्छु ।’
प्रधानमन्त्री ओलीले काठमाडौंमा आएर प्रदर्शनको दुःख नगर्न आग्रह गर्दै सरकारले माग पूरा गर्ने प्रतिवद्धता जनाए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE