मन नपरेका पार्टी र नेतालाई हराउन पाइन्छ तर गणतन्त्रको विरुद्ध जान पाइँदैनः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गणतान्त्रिक संविधानलाई समाप्त पार्ने अधिकार कसैलाई पनि नभएको बताएका छन् । शुक्रवार पोखरामा गण्डकीस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संविधानले दिएको स्वतन्त्राको हकभित्र रहेर शान्तिपूर्वक गतिविधि गर्न पाइने छुट सबैलाई रहेको बताएका हुन् । उनले सरकार, कुनै पार्टी वा नेता मन नपरे निर्वाचनमार्फत हराउन सकिने बताए । उनले पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा भइरहेका प्रदर्शनलाई इंगित गर्दै लोकतन्त्रभित्र बसेर आफ्ना गतिविधि गर्नुपर्नेमा सचेत गराए ।
उनले जबरजस्ती र विध्वंसात्मक गतिविधिले देशलाई अस्थिरतातर्फ लैजाने भएकाले यसतर्फ सबैले सचेत हुनुपर्ने बताए । यस्ता गतिविधिहरुलाई नियन्त्रण गर्नु र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु सरकार तथा सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।
उनले भने, ‘सरकार बदल्न पाइन्छ । पाँच पाँच वर्षमा आवधिक निर्वाचनमा गएर आफूलाई मन लागेको पार्टी र नेतालाई जिताउन पाइन्छ र हराउन पाइन्छ । तर लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई समाप्त गर्छु भन्न पाइँदैन, च्यात्न पाइदैन भत्काउन पाइँदैन फाल्न पाइँदैन । लोकतन्त्र भित्र बसेर आफ्ना सबै गतिविधि गर्न पाइन्छ । शान्तिपूर्वक भेला हुने, प्रदर्शन गर्ने, ध्यानाकर्षण गराउने, विरोध गर्ने, आलोचना गर्ने सबैकुरा हुन्छ । तर विध्वंसात्मक कार्य गर्ने हत्याहिंसालाई प्रश्रय दिने, जोरजबरजस्ती गर्ने र त्यसकामार्फत संविधान फाल्छु र देशलाई अस्थिरतातफै लैजान्छु भन्न पाइँदैन । यसका बारेमा सबै सचेत हुनु जरुरी छ, यो हाम्रो जिम्मेबारी हो ।’
गृहमन्त्री लेखकले सेवाग्राहीलाई सम्बन्धित निकायले सेवा दिँदा समस्या खडा गर्न नहुनेतर्फ सचेत गराए । उनले सेवाग्राहीको आवश्यक कागजात भएको नभएको शुरुमै जाँच प्रक्रिया गरेर सेवा दिनुपर्ने बताए । कर्मचारीले सेवा प्रदान गर्दा झन्झट नमानी असल व्यवहार गर्दा सेवाग्राहीको आधा समस्या समाधान हुने उनको भनाइ छ ।
उनले भने, ‘कुनै मानिस नागरिकता बनाउन आएको छ भने नागकिरताका लागि आवश्यक कागजात छ कि छैन ढोकामै हेर्नुस् । यदि कुनै कागजात कम परेको छ भने यो कुरा तपाईको कम प¥यो यसरी बनाएर ल्याउनुहोस् भनेर सिकाएर पठाउनुस् । एक फन्को कार्यालयमा घुमी सकेपछि बिहान १० बजे आएको मान्छे बेलुका ५ बजे तपाईको छ वडाको सिफारिस छैन भन्न पाइँदैन । चाहिने जति कागज ढोकामै हेर्नुस कागज पुगेको छ भने भित्र पठाउनुस् प्रक्रिया शुरु गुर्नस् साँभसम्म सेवा दिएर घर पठाउनुस् । त्यो पनि रोलक्रम अनुसार टोकन पद्धतिमा । सेवा दिँदा झन्झट नमानी, अप्ठ्यारो नमानीकन दिनुस् । सेवा प्रदान गरिने कुरा भनेको तपाईले हाँसेर खुशी भएर व्यवहार गर्नुभयो भने पनि उस्को आधा समस्या समाधान हुन्छ ।’
गृहमन्त्री लेखकले मुलुकमा स्थिर सरकारको सुनिश्चिता गर्दै संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाबाट देशमा दिगो शान्ति, सुशासन र विकासको समृद्धि वर्तमान सरकारको लक्ष्य भएको बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE