कक्षा १२ को परीक्षा सुरु, मोबाइल र स्मार्ट घडी लैजान निषेध

काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो । आजबाट सुरु परीक्षा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ ।
राष्ट्रिय परीक्षा बोर्डले देशभरका केन्द्रमा परीक्षाको तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गर्नुभएको छ । बोर्डका अनुसार देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
सबैभन्दा बढी काठमाडौंमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको छ । परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
परीक्षामा कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने बताइएको छ । परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ । परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस लैजान निषेध गरिएको बोर्डले जनाएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा हुनेछ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE