समाजवादउन्मुख अर्थतन्त्रले अलमलमा पारेको छः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले समाजवादउन्मुख अर्थतन्त्रले अलमलमा पारेको बताएका छन् । नेपाली काँग्रेसको आर्थिक नीति तथा योजना विभाग मंगलवार ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आयोजना गरेको ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले संविधानमा समाजवादउन्मुख अर्थतन्त्र भनिए पनि त्यसको गन्तव्य नै स्पष्ट नभएको हो कि जस्तो आफूहरूलाई लागेको बताए । श्रेष्ठले सरकारले संविधान संशोधन गर्ने मुख्य एजेन्डा बोकेर अगाडी बढेको बताउँदै समाजवाद उन्मुख अर्थतन्त्रले कहाँनिर पुग्ने हो भन्नेमा अलमलमा पारेको विचार व्यक्त गरे । १२ वर्षभन्दा बढी समयदेखि भारतबाट नेपालमा प्राइभेट सेक्टरको लगानी नआएको उनले स्मरण गराए । उनले भारतबाट सरकारी क्षेत्रबाट लगानी आएपनि त्यो हाइड्रोपावरमा मात्रै भएको बताउँदै अब सोच्ने समय आएको जिकिर गरे ।
उनले भने, “म समाजवाद उन्मुख अर्थतन्त्रको बारेमा म कुरा राख्न चाहन्छु, अहिले दुई वटा ठुला दल मिलेर संविधान संशोधन गर्ने मुख्य एजेण्डा बोकेर अगाडी बढ्नुभएको छ यहाँहरू । राष्ट्रपतिज्युले पनि अस्ति पहिलो प्राथमिकतामा संविधान संशोधन रहेको उल्लेख गर्नुभएको छ । संविधानमा जुन समाजवाद उन्मुख अर्थतन्त्र भनेर भनिएको छ, त्यसले कन्फ्युजन व्यक्त गरेको हो कि ? कहाँनिर पुग्ने हो, गन्तव्य स्पष्ट नभएको हो कि ? भन्ने जस्तो हामीलाई लागेको छ । यस्तै, १२ वर्षभन्दा बढी समयदेखि भारतबाट नेपालमा प्राइभेट सेक्टरले लगानी गरेको छैन, लगानी छ भने सरकारी क्षेत्रबाट त्यो पनि हाइड्रोपावरमा मात्रै आएको छ । अब सोच्ने बेला आयो कि ?”
उनले संविधान संशोधनको समयमा सरकारले निजी क्षेत्रलाई हेर्न, बुझ्ने र सोच्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने धारणा राखे ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE