आज असार १६ अर्थात ६७ औं संसद् दिवस
काठमाडौं । नेपालमा आज ६७ औँ संसद् दिवस आज मनाइँदै छ । २०१६ साल असार १६ गते नेपालको पहिलो संसद्को बैठक बसेको सम्झनामा यो दिवस मनाउन लागिएको हो ।
नेपालको पहिलो संसद्को पहिलो बैठक सिंहदरबारस्थित ग्यालरी बैठकमा राति ११ बजेर ४५ मिनेट बोलाइएकोमा सभा मध्यरात १२ बजे आरम्भ भएको इतिहास छ । डेढ वर्षे अवधिमा बसेको दुई अधिवेशन अन्तर्गत एक बैठकमा एक सांसदले अर्को दललाई लक्ष्य गरी सामान्य आरोप लगाएवापत केही मिनेट अवरुद्ध भए पनि पुनः सञ्चालन भएको र अर्को अवरोध कहिल्यै नभएको बताइएको छ ।
१०९ सदस्यका लागि २०१५ फागुन ७ गते मतदान शुरु भएकामा साढे दुई महिनापछि अर्थात् २०१६ वैशाख २१ गते अन्तिम नतिजा प्रकाशन भएपछि संसद् बैठक असारमा बोलाइएको थियो । नतिजानुसार नेपाली कांग्रेसले ७४, नेपाल राष्ट्रवादी गोरखा परिषद्ले १९, संयुक्त प्रजातान्त्रिक पार्टी नेपालले पाँच, नेपाल कम्युनिस्ट पार्टीले चार, नेपाल प्रजापरिषद् (आचार्य)ले दुई र नेपाल प्रजा परिषद् (मिश्र) ले एक स्थान जितेका थिए भने स्वतन्त्र चारजनाले पनि संसदमा प्रतिनिधित्व गरेका थिए ।
प्रथम संसद्ले १८ महिना पार नगर्दै २०१७ मा संसदीय व्यवस्था विघटनपछि मुलुक निर्दलीय व्यवस्था लागु भई एक सदनात्मक राष्ट्रिय पञ्चायतको अभ्यासमा गएको थियो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE