कुलिङ पिरियड छेडखानीका लागि गठित संसदीय छानविन समितिले टुंग्यायो कार्यविधि

काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिएको छ । बुधवार सिंहदरबारमा बसेको बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका संयोजक जीवन परियारले कार्यविधिका बारेमा मंगलवारबाट काम शुरु गरेको र आजको बैठकले अन्तिम रुप दिएको जानकारी दिए । अब पारित गर्न मात्रै बाँकी रहेको उनको भनाइ छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थियो ।
गडबडीबारे छानबिन गर्न प्रतिनिधि सभाबाट सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो । समितिको संयोजकमा काँग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार छन् । संसदको नियमावली, २०७५ को नियम १८० बमोजिम गठन गरिएको समितिमा नेपाली काँग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १–१ जना सदस्य छन् ।
नेपाली काँग्रेसबाट संयोजक परियारसहित र सुशीला थिङ तथा नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की छन् । समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको छ ।
उनले भने, ‘हिजो हामीले कार्यविधिका बारेमा छलफल अघि बढाएका थियौँ । त्यो कार्यविधि अब अन्तिम चरणमा पुगेको छ । हामीले त्यसलाई पारित गर्न मात्रै बाँकी छ । काम कसरी अघि बढाउने भन्नेमा छलफल गरेका छौँ । कार्यविधिलाई अन्तिम रुप प्रदान गरेका छौँ ।’
बैठक बिहीवार सवा १२ बजे बस्नेछ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE