शेखर पक्षधर नेताहरु भन्छन्ः ‘अनुशासन समितिबाट भएको कारबाही पूर्वाग्रही छ, स्वीकार्य छैन’

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर पक्षले पार्टीको अनुशासन समितिले पूर्वाग्रह राखेर पार्टीका नेताहरुमाथि कारबाही गरेको निष्कर्ष निकालेको छ ।बिहीवार संस्थापन इतर पक्षका नेता डा. शेखर कोईरालाको सचिवालयमा भएको संस्थापन इतर समूहले अनुशासन समितिले पूर्वाग्रह राखेर पार्टीका नेताहरुमाथि कारबाही गरेको निष्कर्ष निकालेको हो ।
नेताहरुले विधानतः कारबाही सही नरहेको बताएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस सांसद एवं संस्थापन इतर पक्षधर नेता राजेन्द्र बजगाईंले उजुरी परेको समयको ६ महिनाभित्रमा कारबाही गर्नुपर्ने भन्ने काँग्रेसको विधान रहेको भएपनि करिव तीन वर्षपछि कारबाही गरिनु गलत भएको बताए । उनले गठबन्धनको उम्मेदवार हराउन लागेको भन्ने आधार बनाएर अहिले कारबाही गर्नु उचित नरहेको तर्क गरे ।
आसन्न निर्वाचन २०८४ र त्यो भन्दा अघि पनि मध्यावधिको रुपमा पनि हुनसक्ने स्थितिलाई हेरेर कारबाही गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । भेलामा पार्टीको महाधिवेशनबारे पनि छलफल भएको छ ।
उनले भने, ‘विधानतः कारबाही ठिक छ की छैन कारबाही भन्ने विषयमा कुरा भयो । उजुरी परेको समयको ६ महिनाभित्रमा कारबाही गर्नुपर्ने भन्ने छ । त्यो संगत नभएकाले यो वैधानिक छैन भन्ने कुरा भयो । नेपाली काँग्रेस र नेकपा एमालेका समस्याहरु पार्टीभित्रका द्वन्द्व समान रुपले हेर्न लायक छ । त्यहाँ पनि कारबाहीको श्रृंखला चलेको छ । हामीले पनि अनुशरण गर्यौं भन्ने हो । गठबन्धनको उम्मेदवार हराउन लागेको भन्ने आधार बनाइएको छ । आसन्न निर्वाचन २०८४ र त्यो भन्दा अघि पनि मध्यावधिको रुपमा भनेर गर्न खोजिएको बुझियो । पार्टीको विधान तोकिएकै समयमा हुन्छ भन्ने विषयमा संशय रहेकोबारे पनि छलफल भएको छ ।’
काँग्रेस नेता अर्जुननरसिंह केसीले कारबाही पक्षपातपूर्ण र पूर्वाग्रही रहेको बताए । सिंगो पार्टीको हित र विधान विपरित गइ कारबाही गरिएको भन्दै यसलाई स्वकार्न नसकिने बताए । उनले १५ औं महाधिवेशनलाई लक्षित गरेर विधि, विधान र प्रक्रिया विपरित पूर्वाग्रहले कारबाही भएको आरोप लगाए ।
उनले भने, ‘कारबाहीहरु अत्यन्त पक्षपातपूर्ण र पूर्वाग्रही छ । सिंगो पार्टीको हित र पार्टीको विधानलाई गम्भीर अध्ययन गरेर हुनुपर्नेमा त्यसको विपरित भएको छ । नेपाली काँग्रेसको विधान र नियमावलीले उजुरी परेको ६ महिनाभित्रै कारबाही गर्नुपर्ने भनेको छ । अहिले आएर दुई तीन वर्षपछि किन कारबाही भइरहेको छ । यो गम्भीर कुरा छ । १५ औं महाधिवेशनलाई लक्षित गरेर विधि, विधान र प्रक्रिया विपरित पूर्वाग्रहले काम भएको छ । कुनैपनि साथीहरुलाई हामी अन्याय हुन दिँदैनौँ । विधान र विधानको नियमावली भन्दा बाहिर गएर भएका कुनै कारबाही स्वीकार गर्दैनौँ ।’
अनुशासन समितिको कारबाहीमा परेका काँग्रेस खोटाङ जिल्ला सभापति विष्णुकुमार राईले पार्टीको विधान भन्दा बाहिर गएर कारबाही गरिएको भन्दै आपत्ति जनाए । पार्टीको विधान भन्दा बाहिर गएर पार्टीलाई क्षति पुर्यायो भने उसलाई अनुशासनको ट्रयाकमा ल्याउनुपर्छ भन्ने विधान भएपनि त्यो प्रावधानको उपयोग हुन नसकेको बताए । आफूहरु विपीको विचारबाट प्रेरित भएर पार्टीमा लागेको बताउनु भयो । पार्टी विचार, सिद्धान्त र ट्रयाक भन्दा बाहिर गइरहेको बताए ।
उनले भने, ‘पार्टीको विधान भन्दा बाहिर गएर पार्टीलाई क्षति पु¥यायो भने उसलाई अनुशासनको ट्रयाकमा ल्याउनुपर्छ भन्ने विधान थियो । त्यो प्रावधानलाई उपयोग गर्दा कुन ढंगले उपयोग गरेको छ, त्यसको अन्तर्यलाई बुझ्नुपर्छ । यो आग्रह र पूर्वाग्रहबाट प्रेरित छ । विपीको विचारबाट प्रेरित भएर पार्टीमा लागेको हो । अहिलेको नेतृत्वहरु जान्दैनौँ । पार्टी विचार, सिद्धान्त र ट्रयाक भन्दा बाहिर गइरहेको छ ।’
अर्का काँग्रेस नेता एवं अनुशासन समिति सदस्य सञ्जय गौतमले अनुशासन समितिमा २१ सय भन्दा बढी मुद्दाहरु रहेको बताए । कतिपय केन्द्रिय सदस्यका, पदाधिकारीका मुद्दाहरु पनि रहेको बताए । अनुशासन समितिका बहुमत सदस्यहरुले पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको र यो राम्रो नभएको बताए । उनले निष्कासन गर्नेकुरा अन्तिम रहेको र त्यहाँ पुग्ने स्थिति नरहेको बताए ।
उनले भने, ‘अनुशासन समितिका धेरै मुद्दाहरु छन् । २१ सय भन्दा बढी मुद्दाहरु छन् । कतिपय केन्द्रिय सदस्यका, पदाधिकारीका मुद्दाहरु पनि छन् । व्यापक रुपमा छलफल गरेका छौँ । सर्वसम्मत हुन सकेन । पार्टीको केही साथीहरुले बहुमतका आधारमा पार्टीको साधारण सदस्यबाट निष्कासन गर्नेसम्मको प्रक्रिया अघि बढाउनु भयो । हामी त्यसमा सहमत हुन सकेनौँ । असहमति राख्यौँ । निष्कासन नै गर्ने कुरा अन्तिम कारबाही हो । त्यसमा असहमित जनाएका छौं ।’
काँग्रेस नेता गुरु घिमिरेले अनुशासन समितिले गरेको कारबाही पार्टी विधान र नियमावली विपरित रहेको बताए । उहाँले यो अवैधानिक र पक्षपातपूर्ण रहेको बताए । पार्टीभित्रको अर्को पक्षलाई पाखा लगाउने उद्देश्यमा आधारित रहेर कारबाही गरिएको उनको आरोप छ । कारबाहीबारे अनुशासन समितिका ५ जना सदस्यमध्ये दुई जनाले नोट अफ डिसेन्ट लेखेको पनि जानकारी गराए ।
उनले भने, ‘अनुशासन समितिले गरेको कारबाही पार्टी विधान र नियमावली विपरित छ । अवैधानिक छ । यो पक्षपातपूर्ण र गुट प्रेरित छ । पार्टीभित्रको अर्को पक्षलाई पाखा लगाउने उद्देश्यमा आधारित छ । यो निर्णय बहुमत र अल्पमतका आधारमा गरिएको छ । अनुशासन समितिका ५ जना सदस्यमध्ये दुई जनाले नोट अफ डिसेन्ट लेख्नुभएको छ ।’
नेताहरुले राजनीतिक रुपबाट अभिप्रेरित भएर कारबाही गरिएको बताए । अनुशासनको कारबाहीको प्रक्रियाबारे सभापति शेरबहादुर देउवालाई स्मरण गराउने सहमति भएको बताए । केन्द्रिय समितिबाट कारबाहीबारे अन्तिम टुंगो लाग्ने जिकिर गरेका छन् । पार्टीभित्र प्रतिष्पर्धी समूहलाई पेल्ने प्रयत्नको शालिन र सभ्य रुपबाट हुने बताए । नेपाली काँग्रेसको अनुशासन समितिले पार्टीको हित विपरित काम गरेको र गत निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई नसघाएको भन्दै केही नेता कार्यकर्ताहरुलाई कारबाही गरेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE