बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

एमाले पोलिटब्युरो बैठकः उमेरहद, दुई वर्षे कार्यकाल र भण्डारीको सदस्यता नविकरणबारे बहस

काठमाडौं । नेकपा एमालेको विधान संशोधन मस्यौदा प्रस्तावले पार्टीमा गर्मागर्मी बढाएको छ । विधान महाधिवेशनबाट एमालेले केहि मुख्य विषयमा हेरफेर गर्ने देखिरहदा ७० वर्षे उमेर हद र अध्यक्षमा दुई कार्यकालको प्रावधान हटाउने र राख्नेमा रस्साकस्सी चलेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनको घोषणाले एमालेमा खैलाबैला नै मच्चिएको छ ।

७० वर्षे उमेरहद र कार्यकालभन्दा बढी समय नेतृत्व गर्न नपाउने विषयले यतिखेर सत्तारुढ दल नेकपा एमालेभित्र तनाब सिर्जना गरेको छ । हिजो आज पार्टीका शीर्ष नेताहरू नै वाकयुद्धमा उत्रिएपछि पोलिटब्युरो बैठकमा गर्मागर्मी बढेको छ । एमालेको विधान संशोधन मस्यौदा प्रस्तावमा नेताहरुले आ–आफ्ना अभिब्यक्ती दिइरहेका छन् । पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको राजनीतिमा फर्किने कुराले नेताहरु प्रस्तावको पक्ष र विपक्षमा विभाजित भएका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टीको ११ औं महाधिवेशनबाट तेस्रो कार्यकाल पनि अध्यक्ष बनेर नेतृत्व गर्ने ध्याउन्नमा देखिएका छन् ।

तेस्रो पटक अध्यक्ष हुनकै लागि उनले सचिवालय बैठकबाट आगामी भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा पेस हुने विधानबाट ७० वर्षीय उमेर हद र दुई कार्यकालको व्यवस्था नै अटाउने गरी छलफल अघि बढाएका छन् । अझ केन्द्रीय समिति बैठकमा पनि त्यो प्रस्ताव प्रस्तुत गरेर बहुमतले पारित गराउने पक्षमा ओली छन् । पार्टीकै सिफारिसमा दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारीले राजनीतिक पुनरागमनका लागि एमालेको पार्टी सदस्यता नै नवीकरण गरेपछि एमालेमा प्रस्ट दुई धार देखापरेको छ ।

विधान संशोधन प्रस्तावबारे सचिवालय बैठकको निर्णयलाई लिएर पार्टीका शीर्ष नेताहरूको ‘वाकयुद्ध’ सामाजिक सञ्जालमा देखियो । सामाजिक सञ्जाल फेसबुकमा महासचिव शंखर पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भएकाले मिसन ८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टीको सुनिश्चित भएको बताएको केही घण्टामै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासचिव पोखरेललाई काउन्टर जवाफ दिए । शुक्रबार मध्यराति सम्पन्न एमाले सचिवालय बैठकले पार्टीमा ७० बर्षे उमेरहद र २ कार्यकाल हटाउने तथा पदाधिकारी सङ्ख्या १५ बनाउने र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो ।

पूर्व राष्ट्रपति भण्डारीले एमाले नेतृत्वमा आउने प्रयास गरिरहेका बेला सचिवालय बैठकले गरेका निर्णयहरूबाट भण्डारी आगामी विधान महाधिवेशनमै प्रतिनिधि बन्न नपाउने भएकी छन् । यो प्रबन्धका कारण एमालेको ११ औँ महाधिवेशनमा ओली नै दोहोरिने निश्चित भएपछि पोखरेल विधि निर्माणको अन्योल हटेको बताएका हुन् । तर, विद्या भण्डारीको पक्षमा खुलेर लागेका वरिष्ठ उपाध्यक्ष पोखरेल सचिवालयको निर्णय उल्ट्याउन सकिने भन्दै पोलिटब्युरो बैठकमा आफू निकटकाहरुलाई अपिल गरेका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले पोलिटब्युरो सदस्यहरूलाई प्रस्तावमाथि बहस र छलफलमा सक्रिय सहभागिता जनाउन अपिल गर्दै परिमार्जन गर्न सकिने बताएपछि नेताहरुमै जुहारी चलिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x